बेलबारी । प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका शहीद पदमकुमार लिम्बु (लाजेहाङ) को बेलबारीमा शनिबार साँझ अत्येष्टि गरिएको छ ।
बेलबारी ३ स्थित टुक्रेमा रहेको किराँत याक्थुङ चुम्लुङको घेराबारा स्थलमा उनको लिम्बु संस्कार अनुसार अन्त्येष्टि गरिएको हो । बिहान १० बजे धरानमा, ११ बजे इटहरी र साढे १२ बजे रोडशेष चोक विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो।
श्रद्धाञ्जली सभापछि प्रदेशसभा परिक्रमा गरी दिउँसो शहीद लिम्बुको घर बेलबारी २ लालभित्तिमा शव पुर्याएर अपराह्न ४ बजे पछि उनको अन्तिम संस्कार गरिएको छ । अन्त्येष्टिमा पहिचानवादी संघसंस्थाका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रदेश १ को नाम कोशी पारित भएपछि पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते भएको आन्दोलनका क्रममा प्रहरीको लाठी लागेर घाइते लिम्बुको उपचारकै क्रममा चैत १० गते मृत्यु भएको थियो।संघर्ष समितिको माग अनुसार चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहीद घोषणा गरेको थियो।
Discussion about this post