विराटनगर । मोरङको बूढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा घाइते भएका एक जनाको बुधबार राति मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार बूढीगंगा गाउँपालिका–६ सुक्चरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को ९ प ७८२८ र उत्तरतर्फ जाँदै गरेको को २९ प ६१५९ नम्बरको मोटरसाइकल ठोक्किएर साँझ ७ः५० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ७८२८ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगपालिका–५ का अन्दाजी २६ वर्षीय जितेन्द्र उराउको मृत्यु भएको न्यौपानेले बताए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा राति ८ः४० बजेतिर मृत्यु भएको हो । प्रनि न्यौपानेका अनुसार उक्त मोटरसाइकलको पछाडि सवार विराटनगर–५ का २५ वर्षीय सुरज उराउ घाइते भएका छन् ।
त्यस्तै, अर्को मोटरसाइकलमा सवार सुनसरीको इटहरी उपमहानगरपालिका–११ का अन्दाजी १६ वर्षीय सनम सरदार, अन्दाजी १५ वर्षीय आकाश सरदार र अन्दाजी ५ वर्षीय राकेश सरदार घाइते भएका छन् । सनम मोटरसाइकल चालक हुन् । सामान्य अवस्थाका सबै घाइतेको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको र दुवै चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला परेन । घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।
Discussion about this post