एजेन्सी / सिक्किममा २५ वर्ष शासन गरेका पवन चाम्लिङको दलले यस पटकको विधान सभा निर्वाचनमा नमिठो हार व्यहोर्यो ।
सन् २०१९ को निर्वाचनमा ३२ मध्ये १५ सिट चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फोरम एसडीएफले जितेको थियो ।
यस पटक २ वटै निर्वाचन क्षेत्रबाट चाम्लिङ पराजित मात्रै भएनन् उनको दलले अरू १४ सिट गुमायो ।
एसडीएफको १४ सिट खोस्ने दल हो सिक्किम क्रान्तिकारी मोर्चा । यसका कमाण्डर हुन् प्रेम सिंह तामाङ ।
आफ्नो राजनीतिक जीवन एसडीएफबाटै सुरुवात गरेका तामाङले कालान्तरमा चाम्लिङप्रति असन्तुष्टि जनाउँदै एसकेएम खडा गरेका थिए ।
सिक्किम राज्यसभाको ३२ मध्ये ३१ सिट एसकेएमले जितेको छ । आफ्नो दललाई बहुमत दिलाएसँगै तामाङ दोस्रो कार्यकालका लागि समेत मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
सिक्किममा दुई पटक मुख्यमन्त्री बन्न लागेका तामाङ को हुन् त रु
५६ वर्षीय तामाङको छवि कुशल प्रशासक, अब्बल संगठक र असल समाजसेवीको रूपमा स्थापित छ ।
उनको दलले बहुमत प्राप्त गर्नुमा तामाङको व्यक्तिगत र व्यावसायिक छवि कारक रहेको जानकारहरू बताउँछन् ।
सन् १९६८ फेब्रुअरी ५ मा जन्मिएका तामाङले सरकारी शिक्षकमार्फत आफ्नो करियर सुरुवात गरेका थिए । कालु सिंह तामाङ र धनमाया तामाङका छोरा प्रेमले दार्जिलिङबाट आफ्नो उच्च शिक्षा हासिल गरेका थिए ।
सन् १९९० देखि सन् १९९३ सम्म सरकारी शिक्षकका रूपमा कार्यरत प्रेमले तीन वर्ष अध्यापन गराए । त्यसपछि उनको रुचि राजनीतितर्फ अघि बढ्यो ।
सन् १९९४ मा उनले चाम्लिङसँगै मिलेर एसडीएफ गठन गरे । २६ वर्षको उमेरमा सांसद बनेका तामाङ २० वर्षसम्म चाम्लिङकै साथमा थिए ।
चाम्लिङले २५ वर्ष शासन गर्दा तामाङ पनि १५ वर्षसम्म मन्त्री भए । सन् २०१३ मा उनले चाम्लिङसँग असन्तुष्टि जनाउँदै नयाँ दल गठन गरे । सन् २०१४ को निर्वाचनमा उनको दलले १० सिट जित्यो ।
सन् २०१७ मा गाइ वितरण कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा उनलाई जेल चलान गरियो ।
एक वर्षसम्म जेलमा रहेका तामाङले सन् २०१९ मा आफ्नो दललाई १७ सिट जिताए । पछि एसडीएफका ४ सांसद आफ्नो दलमा भित्र्याउँदै मुख्यमन्त्री समेत बन्न सफल भए ।
तामाङ उदयको टाइमलाइन
सन् १९९४ मा उनी पूर्णकालीन रूपमा एसडीएफमा सक्रिय भएका थिए । त्यसअघि उनलाई एसडीएफको युवा सङ्गठनको उपाध्यक्ष बनाइएको थियो । उनी २६ वर्षको उमेरमा सांसद भएका थिए ।
चाङचुङबाट उनी राज्यसभामा चुनिएका थिए । सन् १९९४ देखि सन् १९९९ सम्म उनी पशुपालन मन्त्री भए ।
सन् १९९९ मा चाङचुङबाटै सांसद चयन भएपछि उनले २००४ सम्म उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाले ।
सन् २००४ को चुनावमा तामाङले भारतीय राष्ट्रिय कङ्ग्रेसका सतिश मोहन प्रधानलाई हराए ।
त्यसपछि उनले सन् २००९ सम्म आवास मन्त्रालय सम्हाले । सन् २००९ मा भएको राज्यसभा निर्वाचनमा उनले भारती कङ्ग्रेसका अरुण कुमार सिंहलाई पराजित गरे ।
त्यसपछि उनलाई उद्योग विभागको अध्यक्ष प्रस्ताव गरे पनि तामाङले त्यसमा रुचि देखाएनन् ।
Discussion about this post