विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित एउटा मिलका सञ्चालकलाई शनिवार साँझ करेन्ट लागेको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका मिल सञ्चालक विराटनगर–४ इक्राहीका ५२ वर्षीय अवधनारायण मोदीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका छन् । आफ्नै धान कुट्ने मिलमा करेन्ट लागेर गम्भीर घाइते भएको अवस्थामा मोदी भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
धान कुट्न गएकाहरूले मोदीलाई साँझ ६ः४५ बजेतिर मिलमै लडिरहेको देखेर परिवारका सदस्यलाई खबर गरेका थिए । तत्काल उद्धार गरेर उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डिएसपी बस्नेतले बताए । मिलको बल्ब परिवर्तन गर्ने क्रममा मोदीलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post