झापा : झापाको दमकमा गोठमा बाँधेको गाई चोरेर काट्ने चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले आज दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा तीन जना भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने तथा एक जना स्थानीय रहेका छन् ।
प्रहरीका अनुसार दमक–२ को बेलडाँगी भुटानी शरणार्थी शिविर–२ को छाप्रो नं ३३२ को ४४ वर्षका प्रेमबहादुर विष्ट, दमक–३ मा रहेको बेलडाँगी शिविर–३ को छाप्रो नं ए ३–२०८ बस्ने ३८ वर्षका खगेन्द्र दुलाल, सोही स्थानको छाप्रो नं ए २–२०८ बस्ने ३२ वर्षका विधान थापा र दमक नगरपालिका–४ बस्ने ४५ बर्षकी गीता श्रेष्ठ पक्राउ परेका छन् ।
पक्राउ परेकामध्ये दुलालले पटक पटक जबरजस्ती करणी तथा पशुपक्षी सम्बन्धी अपराधमा जेल सजाय पूरा गरेर रिहा भएको पाइएको प्रहरीले जनाएको छ ।
भदौ १८ गते रातको समयमा उनीहरूले दमक नगरपालिका–१ मा गोठमा बाँधिरहेको २ महिनाको गर्भिणी रहेको गाई चोरी गरी गोठदेखि १०० मिटर उत्तरपटीको प्लटिङमा लगेर काटेका थिए । खुट्टा तथा गर्धनको मासु, रगत लगेका उनीहरूले शरीरको अन्य भाग घटनास्थलमा नै छोडेका थिए ।
गर्भिणी गाई काटेको घटना बाहिरिएपछि घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीमाथि चर्को दबाब परेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रशासनसँग माग गरेका थिए ।
प्रहरीले गरेको अनुसन्धानका क्रममा शुक्रवार उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट बन्चरो १ थान, खुकुरी एक थान र मासु बोक्न प्रयोग भएको झोला एक थान बरामद गरेको पनि प्रहरीले जनाएको छ ।
Discussion about this post