इटहरी : कोशी प्रदेश सरकारमा मन्त्री पठाउन नसक्दा नेपाली कांग्रेस ‘असक्षम’ देखिएको छ । प्रदेशसभा सदस्य रहेकाहरूमध्ये क–कसलाई मन्त्री बनाउने भन्नेबारे हालसम्म टुंगो लाग्न नसक्दा कोशी कांग्रेस ‘असक्षम’ देखिएको हो।
नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीको नेतृत्वको सरकारबाट माओबादी केन्द्र बाहिरिएको डेढ महिना हुन लाग्दासमेत कांग्रेसले मन्त्री पठाउन नसकेको हो ।
केन्द्रको सत्ता समीकरण फेरबदल भएसँगै कोशी प्रदेशमा पनि एमाले र कांग्रेसको सरकार बन्ने भएपनि हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । कोशीमा कांग्रेसले चार मन्त्रालय पाउनेगरी सहमति भएको छ ।
नौ मन्त्रालय रहेको कोशीमा कांग्रेसले चार मन्त्रालय पाउनेगरी साउन १२ गते नै सहमति गरी दुई दिनभित्रमा मन्त्रीको नाम टुंगो लगाउने बताएको थियो । आन्तरिक भागबन्डा मिलाउन नसक्दा प्रदेशमा मन्त्रालय विभाजन गर्नुपर्ने दबाब पनि कांग्रेसले दिएको थियो । तर, हालसम्म कांग्रेसले मन्त्री पठाउन सकेको छैन ।
सरकारमा सहभागी नै भइनसकेको कांग्रेस यसअघि प्रदेशसभा बैठकमा भने सत्तापक्षको बेन्चमा बसिसकेको छ । खासगरी कोशी कांग्रेसले मन्त्रीको नाम टुङ्ग्याउन केन्द्रीय समितिलाई नै जिम्मेवारी दिएको थियो । कांग्रेस कोशी प्रदेशसभाका प्रमुख सचेतक गोपाल तामाङले केन्द्रबाटै मन्त्रीको नाम आउने भएकाले ढिलाइ भएको बताए ।
‘केन्द्रबाटै नाम आउने भएका कारण ढिलो भएको हो, अरु कुनै कारण छैन,’ उनले भने, ‘केन्द्रबाट मन्त्रीको नाम आएपछि हामी सरकारमा सहभागी हुन्छौँ ।’ कोशीमा चार मन्त्री र दुई राज्यमन्त्रीसहित कांग्रेस सरकारमा सहभागी हुने उनको भनाइ छ।
‘चार मन्त्री र दुई रान्यमन्त्रीसहित सरकारमा सहभागी हुने भन्नेबारे निर्णय भएको छ। हामीलाई मन्त्री छान्ने अधिकार भएको भए अस्ति टुङ्गिहाल्थ्यो,’ उनले भने, ‘नाम टुङ्गो लागेको भोलिपल्टै सरकारमा सहभागी हुन्छौँ।’ उनले मन्त्री छान्ने अधिकार केन्द्रलाई नै रहेको बताए । मन्त्री कोको बन्ने भन्नेबारे भने अनिश्चित रहेको तामाङको भनाइ छ।
स्रोतकाअनुसार मन्त्रालय फुटाउँदा नकारात्मक सन्देश जाने भएकाले एमालेले मुख्यमन्त्रीसहित सात, (एक मुख्यमन्त्री, चार मन्त्री र दुई राज्यमन्त्री) र कांग्रेसले चार मन्त्री र दुई राज्यमन्त्रीसहित ६ जना सहभागी हुने गरी समझदारी भएको छ।
९३ सदस्यीय कोशी प्रदेशसभामा कांग्रेस २९ जना सांसद छन्। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट दुई जना, डा. शेखर कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई एक–एक मन्त्री र एक राज्यमन्त्री दिने गरी भागबण्डा मिलाउन खोजिएको कांग्रेस स्रोतले जनाएको छ।
मन्त्रीको आकांक्षीमा देउवा पक्षबाट अमृत अर्याल, प्रदीप सुनुवार, खगेनसिंह हाङगाम, हिमाल कार्की, डोल्मा तामाङ, मैया श्रेष्ठ लगायत मन्त्री बन्ने तयारीमा छन् । ती मध्ये दुई मन्त्री बन्नेछन् । डा. कोइराला समूहबाट गोविन्द गिरी, मनबहादुर लिम्बू, रामकुमार खत्री र इन्दिरा थापा मन्त्रीका आकांक्षी छन् । ती मध्ये एक मन्त्री र एक राज्यमन्त्री बन्नेछन् ।
सिटौला समूहबाट भने भीम पराजुली, भूपेन्द्र राईलगायत मन्त्रीका आकांक्षी रहेका छन् । पराजुली विराटनगर महानगरका निवर्तमान मेयर हुन् भने राई कांग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत हुन् ।
Discussion about this post