‘ट्राफिक लाइट’मा रोकिएका बेला विराटनगरमा मन्त्री सवार गाडीलाई सफारीले दियो ठक्कर

मंगलबार, ०६ जेठ २०८२

विराटनगर : कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगाम सवार गाडीलाई विराटनगरमा ‘ट्राफिक लाइट’मा रोकिएका बेला सिटी सफारीले ठक्कर दिएको छ । 

प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ कञ्चनबारीमा सोमबार साँझ ७ः३० बजेतिर दुर्घटना भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको हाङगाम सवार प्रदेश १–०४–००१ झ ०१०९ नम्बरको गाडीलाई प्रदेश १–०२–००४ ह ५७६७ नम्बरको सिटी सफारीले ठक्कर दिएको जानकारी दिए । 

उनका अनुसार मन्त्री हाङगाम सवार गाडी कञ्चनबारी चोकमा ‘ट्राफिक रेड लाइट’मा रोकिएको थियो । ‘ट्राफिक लाइट’मा रोकिएर रहेको गाडीलाई सफारीले पछाडिबाट ठक्कर दिएको जोशीको भनाइ छ ।

सफारीको ठक्करबाट गाडीको पछाडिको ‘लाइट’ फुटेर सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा कुनै मानवीय क्षति भने भएन । घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी बरगाछीबाट खटिएको असई भोलानाथ वाग्ले नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

वाग्ले नेतृत्वको टोलीले सफारी चालक विराटनगर–३ का ४५ वर्षीय गणेश दाहाललाई नियन्त्रणमा लिएको छ । सफारी चालकको लापरबाहीले दुर्घटना भएको र थप अनुसन्धान अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार