‘अहिलेकै नकारात्मक सोचले देश बन्दैन’ – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा

शुक्रबार, ०९ जेठ २०८२

काठमाडौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा व्याप्त नकारात्मक सोच र निराशावादी धारणाले देशको विकास अवरुद्ध हुने बताउँदै यस्तो प्रवृत्ति त्याग्न आग्रह गरेकी छिन्।

जापानको टोकियोमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको स्वागत समारोहमा बोल्दै उनले ‘केही हुँदैन, केही सम्भव छैन’ भन्ने मनोवृत्तिले न त समाज, न त देश नै अगाडि बढ्ने चेतावनी दिइन्।

उनका अनुसार यस्तो सोच नेपाली राजनीतिक दलहरू, आम नागरिक र विदेशमा रहेका नेपालीहरूमाझ पनि देखिएकोले त्यसलाई परित्याग गरी सकारात्मक वातावरण निर्माणमा जुट्नुपर्ने आवश्यकता छ।

डा. राणाले भनिन्, “समाज र देशमा राम्रा काम पनि भएका छन्, तर ती राम्रा कामको प्रचार हुँदैन। सबैले नकारात्मक कुरा भाइरल बनाउने प्रतिस्पर्धा गरेका छन्। यसरी सोचेर र काम गरेर देश बन्दैन।”

गैरआवासीय नेपालीहरूलाई एकताबद्ध भई सकारात्मक सोचसहित अघि बढ्न आग्रह गर्दै उनले एनआरएनए (गैरआवासीय नेपाली संघ) को एकता र सशक्तता आवश्यक रहेको औंल्याइन्।

उनले हालै सर्वोच्च अदालतको आदेशअनुसार सम्पन्न महाधिवेशन सहमतिबाट सम्पन्न भएको र नयाँ कार्यसमिति गठन भएको जानकारी दिइन्।

परराष्ट्रमन्त्री डा. राणाले विदेशमा रहेका नेपालीहरूको सीप, ज्ञान र पुँजीलाई देशको विकासमा उपयोग गर्न आग्रह गर्दै मन्त्रालयले कन्सुलर सेवा र आर्थिक कूटनीतिलाई लक्षित गरी छुट्टै महाशाखा स्थापना गरेको पनि बताइन्।

उनले भनिन्, “नेपाल सरकारको यो अभियानमा संसारभर रहेका नेपालीहरूको सक्रिय सहभागिता आवश्यक छ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार