इटहरीमा फ्लेयर बारटेन्डिङ प्रतिस्पर्धाको दोस्रो संस्करण असारमा हुँदै

शुक्रबार, ०९ जेठ २०८२

इटहरी : इटहरीको सांस्कृतिक माहोल, रात्री जीवन र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले फ्लेयर बारटेन्डिङको दोस्रो संस्करण ‘इस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ आउँदो असार ५ र ६ गते आयोजना हुने भएको छ।

कार्यक्रम इटहरीस्थित रोयल रिसोर्टमा इलाइट बारटेन्डिङ एकेडेमी इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि. काठमाडौँको सहकार्यमा हुने भएको हो।

प्रतियोगितामा नेपालभरिका फ्लेयर बारटेन्डरहरूले आफ्नो सीप, सिर्जनशीलता र प्रस्तुतीकरण प्रस्तुत गर्नेछन्। प्रतिस्पर्धा अडिसन, प्रिलिमिनरी र फाइनल चरणमार्फत सञ्चालन हुनेछ, जसको मूल्याङ्कन अन्तर्राष्ट्रिय स्तरका निर्णायकहरूले गर्नेछन्।

प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान प्रदान गरिनेछ। पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई रु ३० हजार, र तेस्रो हुनेलाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै ‘वेष्ट ककटेल’ र ‘वेष्ट मुभ’ विधामा जनही रु १० हजार पुरस्कारको व्यवस्था गरिएको छ।

इलाइट बारटेन्डिङ एकेडेमी इटहरीका सञ्चालक भिम राना मगरका अनुसार प्रतियोगिताको उद्देश्य फ्लेयर बारटेन्डिङलाई पेशागत रुपमा स्थापित गर्नु र पूर्वी नेपालमा सशक्त बारटेन्डिङ समुदायको निर्माण गर्नु हो। स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.का सञ्चालक राम प्रसाद गौतमले नेपालका विभिन्न सहरहरूबाट साथै भारत र श्रीलङ्काबाट समेत प्रतिस्पर्धीहरू सहभागी हुने जानकारी दिनुभयो। उहाँले यसपटकको प्रतियोगिता अझ स्तरीय र दर्शकहरूको सहभागिता उल्लेखनीय हुने अपेक्षा पनि व्यक्त गर्नुभयो।

इलाइट बारटेन्डिङ एकेडेमीले इटहरीमा पछिल्लो तीन वर्षदेखि तालिम सञ्चालन गर्दै आएको छ भने स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.ले काठमाडौँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बारटेन्डिङ तालिम दिँदै आएको छ। यस प्रतियोगिताको पहिलो संस्करण सन् २०२४ मा सम्पन्न भएको थियो, जसमा ५० भन्दा बढी बारटेन्डर सहभागी भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार