विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ स्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समूहले यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
वन तथा भूसंरक्षण विभागले सोमबार आयोजना गरेको विशेष समारोहमा देवीझोडालाई वन संरक्षण, दिगो विकास, वातावरण सन्तुलन, जैविक विविधता संरक्षण र गरिबी न्यूनीकरणमा पुर्याएको योगदानका आधारमा सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि वन तथा भूसंरक्षण मन्त्री ऎनबहादुर शाहीले समूहका प्रतिनिधिलाई एक लाख रुपैयाँ नगद र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
पुरस्कार ग्रहण गर्न समूहका अध्यक्ष गोविन्द बस्नेत, उपाध्यक्ष रत्ना राई, सचिव समीर सोदेम्बा र कोषाध्यक्ष आशा लिम्बू उपस्थित थिए । देवीझोडा सामुदायिक वनले यसअघि पनि मोरङ जिल्लाको उत्कृष्ट सामुदायिक वनको पुरस्कार पाइसकेको छ ।
समूहले विगतका वर्षहरूमा सामुदायिक वनको संरक्षण र सदुपयोगमा उदाहरणीय गतिविधि गर्दै आएको छ । जसमा वन क्षेत्रको पुनर्संरचना, जैविक विविधता संरक्षणका अभियान र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका कार्यक्रम समावेश छन् ।
यसपटक अन्य श्रेणीमा पनि विभिन्न वन समूह र व्यक्तिहरू सम्मानित भएका छन् । साझेदारी वन श्रेणीमा मोरङकै बेलबारी–चिसाङ साझेदारी वन उपभोक्ता समूह दोस्रो भएको छ । कवुलियती वनतर्फ तेह्रथुमको परमाने–पखेरो कवुलियती वन समूह पहिलो भएको छ ।
निजी वनतर्फ झापाका भरतकुमार बस्नेत प्रथम र मोरङकी पुनम कुमारी द्वितीय भएका छन् । कर्मचारी श्रेणीमा मोरङका गणेशबहादुर कार्की (सवर) प्रथम र इलामकी मनिषा कार्की (सहायक कर्मचारी श्रेणीमा) तृतीय भएका छन् ।
वन तथा भूसंरक्षण विभागका अनुसार गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारले सामुदायिक वन क्षेत्रका उत्कृष्ट अभ्यास र योगदानलाई राष्ट्रिय स्तरमा पहिचान दिने उद्देश्य लिएको छ । यसले देशभरका वन उपभोक्ता समूहलाई संरक्षण र दिगो उपयोगमा थप प्रेरणा दिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया