‘हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाल लगायतका संस्था लेउ लागेजस्ता भए’

मंगलबार, २७ साउन २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कुनै पनि संस्था गतिशील हुन सकेन भने त्यसले प्रगति गर्न नसक्ने बताएका छन्  ।

मङ्गलवार काठमाडौँमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समीक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशील हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगति गर्न नसक्ने बताए ।

उनले भने, ‘रेडियो नेपालमा गयो भने त्यहाँको कर्मचारीहरूको औसत उमेर नै ५५ देखि छ । यति धेरै वर्ष भयो कोही मान्छे जन्मेन होला, जन्मेको भए नयाँ मान्छे किन छैन त रेडियो नेपालमा ? यसो भनिरहँदा त्यहाँ नयाँ भर्ना प्रक्रिया नै भएन । । थाकेका रिटाएर हुन लागेका मान्छेहरूको मात्र जमात भएको संस्थाले कसरी सजिवन प्राप्त गर्न सक्छ ? संस्था भनेको बगेको खोला जस्तो हुनुपर्छ, गतिशील भइरह्यो भने मात्र काम दिन्छ । जमेर बसेको छ भने लेउ लागेर बस्छ । लेउ लागेको संस्थाले कहिले पनि प्रगति गर्दैन् ।’

यस्तै, उनले सबै सरकारी स्वामित्वको निकायहरूको अवस्था एउटै भएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।

उनले भने, ‘म धेरै ठाउँमा जान्छु सबैको अवस्था त्यस्तै छ । टेलिकमिनिकेशनको अवस्था त्यस्तै छ । रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र सबैको हालत एउटै छ । गोरखापत्र त बाँडेर खाने मात्र हो । सरकारी स्वामित्वको भएको हुनाले सरकारी कामको विज्ञापनको जिम्मा उसले पाउने भएर मात्र चलेको हो । आफैँ मेहनत गरेर होइन । हुलाकको हालत यस्तै छ, राससको पनि त्यही नै हो । हुलाकको लागि तपाईँहरूले आफ्नो कुरियर सेवालाई व्यापक पार्नुहोस् । यसमा धेरै सम्भावना देखेको छु ।’

नयाँ परिस्थिति अनुसार नयाँ नीति आवश्यक भएको हुनाले हुलाकको लागि यो वर्ष नयाँ नीति ल्याउन लागेको पनि उनको भनाइ छ ।

उनले भने, ‘कुनै पनि संस्थाको विकासको लागि पहिलो कुरा त्यसको नीतिले संस्थाको उद्देश्य, लक्ष्य, कार्यक्रमहरू निर्धारण गरेको हुनुपर्छ । नयाँ परिस्थिति अनुसार नयाँ नीति आवश्यक हुन्छ । हुलाकको अहिलेसम्म नयाँ नीति छैन, त्यस कारण यो वर्ष हुलाकको नीति ल्याउँदैछौं । नीति मात्र होइन नयाँ कानुन बनाउँदै छौ । त्यस कारण सुधारको सुरुवात नै नीतिबाट हुन्छ । पुन संरचित संस्थाको लागि नीतिमा सुधार पहिलो कुरा हो ।’

उनले सामान्य अनुसन्धानको आधारमा हुलाकको पुन संरचना भएको हुनाले पुन संरचित हुलाकलाई कसरी व्यवस्थापन गर्ने कुरा पहिलो काम भएको पनि बताए ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार