मजदुर भवन निर्माणका लागि एक लाख दिने मेयर चिन्तन तामाङको घोषणा

मंगलबार, २७ साउन २०८२

 धनकुटा । धनकुटा नगरका मेयर चिन्तन तामाङले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीको कार्यालय भवन निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धनकुटा जिल्ला कमिटीले मंगलबार हिलेमा आयोजना गरेको योजना कार्यशाला कार्यक्रममा प्रमुख अतिथि रहेका मेयर तामाङले उक्त घोषणा गरेका हुन् । कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले संगठन स्थापना स्थलमै पहिलो पटक कोशी प्रदेश कमिटीको आफ्नै भवन निर्माण थालिने जानकारी गराउँदै सबैको साथ र सहयोग आवश्यक पर्ने बताएपछि मेयर तामाङले आफ्नो नगरपालिकाको तर्फबाट एक लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । 

WhatsApp Image 2025-08-12 at 1.13.57 PM

मेयर तामाङले संगठन यही प्रदेशमा स्थापना हुनु कोशीबासीका लागि गौरवको कुरा भएको बताउँदै, “श्रमिकहरूको आफ्नै भवन निर्माणमा मेरो पूर्ण सहयोग रहने बताए ।

संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामाका अनुसार, इटहरीस्थित पूर्व–पश्चिम राजमार्गको ट्राफिक प्रहरी कार्यालयको उत्तरतर्फ दशधुर जग्गामा यही असोज १ गते शिलान्यास गरी निर्माण कार्य थालिनेछ। भवन निर्माण कार्य संगठनको आन्तरिक स्रोत, मातहतका कमिटी, संगठनका नेता, शुभेच्छुक तथा तीनै तहका सरकारको सहयोगमा सम्पन्न गरिने लामाले जानकारी दिए ।

धनकुटामा सम्पन्न कार्यशालाले आगामी असारसम्मको वार्षिक योजना तय गरेको छ। यसअन्तर्गत जिल्लाका विभिन्न १५ वटा रुटमा संगठन विस्तार गरी १ हजार सदस्यता बनाउने, पुराना २०० सदस्यको नवीकरण गर्ने, सडक दुर्घटना न्यूनीकरण कार्यक्रम प्रत्येक महिना सञ्चालन गर्ने तथा सडक सुरक्षा सचेतना सम्बन्धी स्टिकर प्रकाशन गर्ने जस्ता कार्यक्रम समावेश छन्।

कार्यक्रममा जिफन्ट धनकुटा अध्यक्ष गणेश थापा, संगठन कोशी प्रदेश सचिव महेश घिमिरे, प्रदेश सदस्य तथा धनकुटा इञ्चार्ज सिंह तितुङ, पूर्व केन्द्रीय सदस्य धिरेन्द्र थिङ लगायत नेताहरूको सहभागिता रहेको थियो। कार्यशालामा धनकुटाका ४६ जना अगुवाहरू उपस्थित थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार