काठमाडौँ : छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई । काना ठाडा हुन्छन्, घरको दैलोमा आइपुग्यो की भनेर आँखाले खोज्न पुग्छन् । तर ती फगत स्वप्न हुन् । उहाँका छोरा दिपेश अब यो संसारमा कहिल्यै नफर्किने गरी विलिन भइसक्नुभएको छ । तै आमाको मन १ मुटुको कुनै कुनामा उनी धड्किरहेका हुन्छन् । आशाले ठाउँ ओगट्ने रहेछ ।
दशैँ आयो, गयो । तिहार पनि गयो । चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने । अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन । दिपेशलाई मासु औधी मनपथ्र्यो । आमा भीममायालाई मासु पकाएको दिन दिपेशको बढी सम्झना आउँछ, मन भक्कानिन्छ । दसैँका लागि घरमा बङ्गुर पालिएको थियो । उहाँ भावुक हुँदै भन्नुहुन्छ, “दुई धार्नी जति भुटेर पठाइ दिनु है मम्मी भनेको अझै ताजै छ ।” तर, भदौ २३ को जेनजी आन्दोलनमा उहाँ सहिद हुनुभयो । मम्मी भन्ने उनको आवाज भने सदाका लागि विलिन भयो ।
अपरिचितको ‘त्यो’ फोन
गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेनजी आन्दोलनमा प्रहरीको गोली लागी दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएको खबर दिउँसैदेखि नेपालभर फैलिएको थियो । छोराको अवस्था बुझ्न घरबाट तारन्तार फोन गर्दा सम्पर्क हुन सकेन । अपराह्न १ बजे फोन गर्दा दिपेशले आफू बानेश्वरको आन्दोलनमा सहभागी भएको र साँझ ६ बजे कोठामा पुगेर फोन गर्ने आफ्नो मम्मीलाई जानकारी गराउनुभएको थियो । भीममायाले आन्दोलनमा नजाउ भनेको उहाँले मान्नुभएन । प्रदर्शन उग्र बनेको समाचार सुन्दा उहाँ आत्तिराख्नुभएको थियो ।
सोही दिन साँझ ६ बजेपछि भिममायाको फोनमा अपरिचित व्यक्तिको आवाज सुनियो । ती व्यक्तिले उक्त फोन आफूले बानेश्वर क्षेत्रमा फेला परेको र लिन आउनु भनेपछि उहाँको मनमा चिसो पस्यो । उहाँले गाउँका अन्य व्यक्तिलाई फोन लिन जान अह्राउनुभयो ।
छोराको फोन फिर्ता लिएपछि काठमाडौँ बस्ने उहाँकै साथीले दिपेशको हातमा गोली लागेको सुनाए । भीममायाको मनमा भक्कानियो । छोराको अवस्था बुझ्न र खोजी गर्न आफन्त र गाउँले साथीभाई अस्पताल र प्रहरीसम्म पुगे । तर उहाँको अवस्था अत्तोपत्तो भएन । तीन दिनसम्म छोराको अवस्था पत्ता नलागेपछि भीममाया आफैँ काठमाडौँ आउनुभयो । घाइते भनिएको र हराइरहेका छोराको खोजतलासलाई तीव्र पारियो ।
छोरालाई खोजी गर्न प्याराग्लाइडिङ पाइलट रामेछापका सानोबाबु सुनुवार, अभियान्ता आशिका तामाङको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा भीममाया पुग्नुभयो । उहाँहरूले दिपेशको फोटो देखाउँदै अवस्था खोजी गर्दै जानेक्रममा एक सातापछि मात्रै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकको सहयोगमा शव गृहमा राखिएको लाशको अनुहार हेर्दै जाँदा दिपेश फेला पर्नुभयो । घाइते अवस्थामा दिपेशलाई कुन–कुन अस्पतालमा पुर्याइयो भन्ने यकीन भएन ।
घरको खाँबो, साथीहरूको मियो थिए दिपेश
सिन्धुलीको तीनपाटन–६ भलायोडाँडामा २०६३ फागुन १७ गतेका दिन पानी परिरहेको थियो, पूरानो घर भत्काएर नयाँ बनाइँदै थियो । परिवारमा गरिबी, खानको पनि दुःख थियो । त्यतिबेला पहिलो सन्तान जन्मिँदा, दुःखको बेला पनि ठूलो हर्क लागेको सम्झिनुहुन्छ दिपेशका बुवा ढलकबहादुर ।
“गाउँका कसैलाई मोटरसाइकलमा पुर्याउनु पर्यो भने उही अघि सर्थ्यो, सबैको कुरा मान्ने थियो ऊ”, ढलकबहादुर छोरालाई सम्झिदै भन्नुहुन्छ, “संसारलाई पुर्याउन टाढाटाढा लैजान्थ्यो । सबैको विश्वास उसैमा थियो । भलिबल खेल्ने केटाहरू आउँदा छोराको बढी सम्झना आउँछ । केटाहरूको ‘मियो’ जस्तै थियो ।”
दिपेशले विद्यालय शिक्षा परीक्षा (एसइई) सम्म मात्र अध्ययन गर्नुभएको थियो । १९ वर्षीय उहाँ एक वर्ष अघि काठमाडौँ आएर उहाँले घर निर्माणको काम गर्नुभयो । तर ठेकेदारले पैसा नदिएपछि उहाँ घर फर्कनुभयो । दिपेशले ठेकेदारसँग अझै २० हजार लिन बाँकी रहेको आमा भीममाया सुनाउनुहुन्छ । पछिल्लो पटक उहाँ गत जेठमा काठमाडौँ आउनुभयो । लगत्तै सफाइ कम्पनीमा काम गर्न थाल्नुभयो ।
काठमाडौँमा मजदुरी गरेर उहाँले घरमा पैसा पठाउने गर्नुहुन्थ्यो । थप पढ्ने इच्छा नभएकाले उहाँ विदेश जाने सोचमा हुनुहुन्थ्यो । दशैँमा घर नआउने र तिहारमा आएको बेला पासपोर्ट बनाएर विदेश जाने उहाँको योजना थियो । “अरु देशमा जान पैसा धेरै आफूसँग छैन । अलिअलि ऋण पनि छ भन्थ्यो”, भीममाया भन्नुहुन्छ, “घरमा तेल भुटुन खर्चका लागि पैसा पठाउँथ्यो । अब घर चलाउने खर्च जुटाउन अप्ठ्यारो भएको छ ।”
दिपेशका भाइ दिनेशलाई बारम्बार दाइको झझल्को आइरहन्छ । मोबाइलमा गेम खेल्दा होस् वा मेलपातमा जाँदा । दाइ बितेपछि दिनेशलाई संसारै अध्यारो भएको छ, मोबाइलको मनपर्ने गेम पनि खेल्न छाडेका छन् । बुबा ढलकबहादुर घरपरिवारको गुजारा चलाउन वर्षमा तीन महिना काठमाडौँ आएर खेतमा मजदुरी गर्दै आउनुभएको थियो । घरमा रहँदा उहाँले अधिकांश समय नाङ्लो बुन्ने र त्यसको बिक्रीबाट खर्च धान्दै आउनुभएको थियो । छोराको साहदतपछि उहाँलाई आजभोलि काठमाडौँ जाने कुरामा मोह भङ्ग भएको छ । नाङ्लो बुन्न पनि छाड्नुभएको छ ।
दिपेशको परिवारले काजकिरिया खर्चबापत गाउँपालिकाबाट रु २५ हजार प्राप्त गरेको छ । सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई ‘जेनजी सुशासन योद्धा–२०८२’ घोषणा गरेपछि सरकारकार तर्फबाट रु १५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । छोरा निधनपछि गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिले परिवारजनासँग भेट गरी सान्त्वना दिँदै आएका छन् ।
आमा भीममायाको एउटै मात्र कामना छ – सहीदका परिवारलाई सहज जीवनपायन गर्न सरकारले हिम्मत दिनुपर्छ । बालबच्चाले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषय पूरा गर्ने काम सरकारले गरोस्, त्यसका लागि अब आन्दोलन गर्न नपरोस्, आन्दोलनका नाममा कसैको काख रित्तो नहोस् । सहीद परिवारलाई राज्यका तर्फबाट आर्थिक सहयोग र सम्मानमा शालिक बनाइ दिए हुन्थ्यो ।
प्रतिक्रिया