विराटनगर । विराटनगरको केक काउन्टरमा पानी माग्न आएका पुरुषले महिला कर्मचारीमाथि कुटपिट गरेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित एक केक काउन्टरमा शुक्रबार बिहान पानी माग्न आएका विराटनगर–७ का ३५ वर्षीय भास्कर बस्नेतले काउन्टरमा काम गर्ने मोरङको कटहरी गाउँपालिका–२ की २४ वर्षीया पवित्रा राजवंशीमाथि अचानक कुटपिट गरेका छन्।
कुटपिटबाट राजवंशीको कानमा चोट लागेको छ भने टाउकोमा पनि गम्भीर चोटपटक परेको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार बस्नेत पानी माग्दै काउन्टरमा प्रवेश गरेका थिए। काउन्टरभित्र काम गर्ने राजवंशीले फ्रिजबाट पानीको बोतल निकालेर दिएकी थिइन्। त्यतिन्जेलसम्म सामान्यजस्तै देखिएका बस्नेतले पानी हातमा लिएलगत्तै एक्कासि राजवंशीको टाउको समातेर बारम्बार फ्रिजमा ठोक्काएका थिए।
भिडियोमा उनको टाउको ५–६ पटक फ्रिजमा ठोक्काइएको दृष्य स्पष्ट देखिन्छ। अचानक भएको आक्रमणपछि ती महिला चिच्याउँदै बाहिर निस्कन खोजेकी थिइन् भने काउन्टरमा रहेका अन्य युवकहरूले महिलालाई बचाएका थिए।
घटना लगतै प्रहरीलाई खबर गरिएकाले वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले भास्कर बस्नेतलाई तत्कालै नियन्त्रणमा लिएको हो। कुटपिटबाट घाइते भएकी राजवंशीलाई उपचारका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस्नेतको व्यवहार घटना स्थलमा एकदमै असामान्य देखिएको थियो। ‘पानी दिएपछि एक्कासि महिलाको टाउको समातेर फ्रिजमा ठोक्काइदिन थालेको भिडियोमा देखिन्छ। किन यस्तो गरे, कसरी घटना भयो भन्ने खुलेको छैन। हेर्दा मानसिक समस्या जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।
पक्राउ परेका बस्नेतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।
प्रतिक्रिया