विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बने मेस्सी,विश्वकपमा सर्वाधिक खेल्ने किर्तिमान पनि मेस्सीकै नाममा

बुधबार, २८ मंसिर २०७९
अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मेस्सीले विश्वकपमा ११ औं गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सुचिमा आफूलाई माथि उभ्याएका हुन् । मेस्सीले क्रोएसियाविरुद्ध सेमिफाइनलमा गोल गर्दै ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन् । उनले पछिल्लो खेलमा गोल गर्दै १० गोलको कीर्तिमान बराबरी गरेका थिए । अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले ८-८ गोल गरेका छन् । मेस्सीले जारी कतार विश्वकपमा नै ५ गोल गरिसकेका छन् । उनी कतार विश्वकपको सर्वाधिक गोलकर्ता सुचिमा किलीयन एमबाप्पेसँग समान ५ गोलमा छन् । यता लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी समेत भएका छन् । मेस्सी फिफा विश्वकप कतार २०२२ अन्तर्गत मंगलबार भएको सेमिफाइनल खेल खेल्दै लोथर मथाउसको कीर्तिमान बराबरी गरेका छन् । क्रोएसियाविरुद्धको खेल विश्वकपमा उनको २५ औं खेल हो । विश्वकप इतिहासमा हालसम्म जर्मनीका मथाउसले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान बनाएका थिए। मेस्सीले सेमिफाइनल खेल्दै उनको रेकर्डसँग बराबरी गरेका हुन् । मेस्सीको फाइनल खेल बाकी नै रहेको छ । फाइनल खेल खेलेसँगै मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने एक्लो खेलाडी बन्ने छन् । मेस्सीपछि हाल अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका क्रिस्टियानो रोनाल्डो २२ खेलसहित सुचिमा छन् । सन्न्यास लिइसकेका खेलाडीमा भने जर्मनीका मिरोस्लाभ क्लोजले २४ र इटालीका पाओलो माल्डिनीले २३ खेल खेलेका छन् । जर्मनीकै थोमस मुलर र म्यानुएल नोएरले पनि १९-१९ खेल खेलेका छन् । यस्तै फ्रान्सका ह्युगो लोरिसले १८ खेल खेलेका छन् । उनले यस विश्वकपमा थप दुई खेल खेल्न सक्नेछन् । क्रोएसियाका लुका मोड्रीचले  १८ खेल खेलेका छन् । अर्जेन्टिनाका एन्जल डी मारिया र फ्रान्सका एन्टोइन ग्रिजमनले १७ -१७खेल खेलेका छन् ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार