काठमाडौँ : नेपाल भलिबल संघद्वारा आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म पोखरामा आयोजना हुने ९औं प्रधानमन्त्री कप एनभीए महिला(पुरुष भलिबल लिग–२०८२ का लागि शिवम् सिमेन्ट लिमिटेडले ‘स्ट्रेन्थ पार्टनर’ को रूपमा सहकार्य गर्ने भएको छ।
राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन र दीर्घकालीन समर्थन गर्ने लक्ष्यसहित शिवम् सिमेन्टले प्रतियोगितामा सहकार्य गर्न लागेको हो। हालै काठमाडौँमा सम्पन्न एक औपचारिक कार्यक्रममा नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ विभागका उपाध्यक्ष निखिल अग्रवालबीच सम्झौतामा हस्ताक्षर भएको थियो।
नेपालको राष्ट्रिय खेलको रूपमा घोषणा भएपछि भलिबलको विकासमा शिवम् सिमेन्टले निरन्तर योगदान दिँदै आएको छ। यसअघिका विभिन्न प्रतियोगिताहरूमा पनि कम्पनीले सक्रिय साझेदारी गर्दै आएको जनाइएको छ।
यस वर्षको प्रधानमन्त्री कप लिगमा कुल १४ टिम सहभागी हुने छन्, जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता पोखरामा हुने भएकाले देशभरका खेलप्रेमीहरूको ध्यान यसतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।
शिवम् सिमेन्टले विगतदेखि नै भलिबल, क्रिकेट, फुटबल, म्याराथन लगायतका खेलकुद कार्यक्रममा सहभागिता जनाउँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि नेपाली खेलकुदको समग्र विकासमा निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल भलिबल संघले पनि निजी क्षेत्रबाट भइरहेको सहकार्यले खेलकुदको गुणस्तर तथा पहुँचमा सकारात्मक प्रभाव परेको भन्दै धन्यवाद व्यक्त गरेको छ।
प्रतिक्रिया