बीपी राजमार्ग अवरुद्ध हुन नदिन पुनः मर्मत गरिँदै

मंगलबार, १७ भदौ २०८२

काभ्रेपलाञ्चोक : आसन्न चाडपर्वहरूमा सहज आवागमनका लागि बीपी राजमार्गको मर्मत सुरु गरिने भएको छ।

गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त बनाएको यो सडक दुई हप्ताभित्रै मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ।

मनसुनको समयमा पनि सडक अवरुद्ध हुन नदिन सडक डिभिजन कार्यालयले विशेष तयारी गरेको थियो।

सडकमा ग्याबियन जालीको पर्खाल लगाइएको थियो र ठूला बोल्डरहरू पनि तयारी अवस्थामा राखिएका थिए।

स्थायी पुनर्निर्माणको योजना

सडक डिभिजन कार्यालयका अनुसार, गत वर्ष असोजमा बाढीले पूर्णरूपमा बगाएको ८ किलोमिटर सडकसहित २९ किलोमिटर क्षतिग्रस्त सडकलाई स्थायी रूपमा पुनर्निर्माण गरिनेछ।

यो सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माणको प्रक्रिया अगाडि बढाइएको छ। काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी दुई वर्षभित्र काम सक्ने लक्ष्य राखिएको छ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पाँच किलोमिटर सडकखण्डको काम गर्नेछ। पुनर्निर्माणको स्थायी काम मनसुन सकिएपछि मात्रै सुरु हुनेछ। यो राजमार्गलाई ‘इन्टरमिडियट लेन’ बाट दुई लेनमा विस्तार गरिनेछ।

सरकारले यो कामको लागि भक्तपुर सडक डिभिजनलाई रु ७ अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई रु १ अर्ब उपलब्ध गराएको छ।

रातको समयमा सवारी साधन रोक

सडकको जोखिमका कारण बीपी राजमार्गमा भदौ मसान्तसम्म राति १२ घण्टा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार, साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक तथा निजी सवारी साधन सञ्चालन गर्न पाइने छैन।

बीपी राजमार्ग धुलिखेल-सिन्धुली-बर्दिबाससम्मको १६० किलोमिटर लामो सडक हो, जसले काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो मार्गको रूपमा काम गर्दछ। यसको निर्माण जापान सरकारको सहयोगमा २०५३/५४ सालमा सुरु भई २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार