काठमाडौँ : प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका विपिन जोशीलाई रिहाका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी अमेरिकातिर प्रस्थान गरेका छन् ।
विगत २४ महिनादेखि बेपत्ता कञ्चनपुरका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा र बहिनी पुष्पा बुधबार अमेरिका प्रस्थान गरेका हुन्।
यसअघि उनीहरू इजरायल पुगेर पनि दबाब बढाएका थिए। तर ठोस प्रगति नभएपछि संयुक्त राष्ट्रसंघमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्न उनीहरू अमेरिका गएका हुन्।
पद्मा र पुष्पाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्ने भएका छन् ।
विपिन जोशी कञ्चनपुर निवासी हुन् । सन् २०२३ अक्टोबर ७ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिममा रहेका बेला उनी अपहरणमा परेका थिए।
नेपाल सरकारले कूटनीतिक पहल गरे पनि ठोस नतिजा आउन सकेको छैन। परिवार निरन्तर सक्रिय छ । अन्तर्राष्ट्रिय सहयोगका लागि सार्वजनिक अपिल गरेको छ ।
जोशी परिवारले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीलाई भेटेर विश्वव्यापी पहल गर्न आग्रह गरेका थिए। त्यसपश्चात सङ्घका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले अमेरिका जान आवश्यक सहजीकरण गरिदिएका थिए ।
दुवैको अमेरिका बसाइमा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रत्यक्ष सहजीकरण गर्नेछन्।
क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिका अध्यक्ष विकास उप्रेती, आइसिसी सदस्य विष्णु रानामगर, महेश खड्का लगायतको सक्रियतामा उनीहरूलाई सहयोग पु¥याउने तयारी भएको छ।
यसअघि गैरआवासीय नेपाली सङ्घ इजरायलले पनि त्यहाँ विशेष कार्यक्रम आयोजना गरी जोशी परिवारप्रति समर्थन जनाउँदै विपिनको रिहाइका लागि अभियान चलाएको थियो ।
यस्तै, मध्यपूर्वका विभिन्न मुस्लिम राष्ट्रमासमेत कूटनीतिक पहल तथा छलफलका लागि गैरआवासीय नेपाली सङ्घले सहजीकरण गर्ने भएको छ ।
प्रतिक्रिया