काठमाडौँ : २४ भदौको प्रदर्शनका क्रममा हत्याका अभियुक्त ‘स्नाइपर’देखि सुन तस्करीमा संलग्न र ‘सिरियल किलर’ विदेशी कैदीबन्दी फरार भएका छन् ।
भारत, चीनलगायत देशका ८२५ विदेशी कैदीबन्दी फरार भएको कारागार विभागले जनाएको छ । तीमध्ये २०६ जना फर्किएका छन् भने ५२० भारतीय र अन्य मुलुकका ९९ जना अझै फरार छन् ।
विभागका अनुसार फरार हुने विदेशी कैदीबन्दीमध्ये सबैभन्दा बढी लागूऔषधसम्बन्धी कसुरका छन् । तर, सङ्गठित र अन्तरदेशीय अपराधमा संलग्न विदेशी कैदीबन्दी फरार भएपछि नेपाल प्रहरीका लागि यो टाउको दुखाइको विषय बनेको छ ।
फरारमध्येका एक हुन्, भारतीय ‘स्नाइपर’ गुड्ड पटेल । नेपालमा रहेर नक्कली नोट कारोबार गर्दै आएको आरोप लाग्ने लाल मोहम्मद हत्या प्रकरणका अभियुक्त पटेल केन्द्रीय कारागार, सुनधाराबाट फरार भएका हुन् । उनलाई टोखामा गोली हानी नेपाल प्रहरीले पक्राउ गरेको थियो ।
पटेललाई नेपाल प्रहरीले लामो प्रयासपछि भारतको लखनउबाट पक्राउ गरेर ल्याएको थियो । भारतविरुद्ध गतिविधि गरेको आरोपमा नेपालमा भएका रहस्यमय हत्या शृङ्खलामा सीमापारिबाट सुटर पक्राउ पर्नु विरलै हुने घटना हो । त्यसमाथि, हत्या योजना बनाउने तहका आरोपी यसअघि समातिएका थिएनन् । मोहम्मद हत्या प्रकरणमा नेपाल प्रहरीले भारतबाटै गुड्डुलाई पक्राउ गरेर ल्याएको थियो ।
अधिकृतहरूका अनुसार उनी भारतको बिहार, रक्सौलका स्थायी बासिन्दा र पेशेवर हिटम्यान (निश्चित रकम लिएर कुनै गिरोहका लागि भाडामा हत्या गर्ने व्यक्ति) हुन् ।
उनको सम्बन्ध भारतीय अन्डरवर्ल्ड डन बब्बु श्रीवास्तवसँग समेत देखिएको थियो । विगतमा नेपालमा रहेर आईएसआईका लागि काम गरेको आरोपमा भएका हत्या घटनामा श्रीवास्तव र अर्का भारतीय डन छोटा राजनको संलग्नता देखिँदै आएको छ ।
‘गुड्डुले दायाँ–बायाँ कुन आँखामा गोली हानौँ भनेर सोधेर निशाना नचुकी हतियार चलाउन सक्थे,’ सङ्गठित अपराध अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘त्यो तहको अपराधी फरार हुनुले सुरक्षा चुनौती बढाएको छ ।’ टोखामा गोली लाग्दा समेत उनले ‘ये ठिक नहीँ हुआ’ भन्दै प्रहरीलाई धम्क्याएको अधिकृतहरूले बताएका छन् ।
गोठाटारमा ४ असोज २०७९ मा मारिएका मोहम्मदलाई भारतीय पक्षले पाकिस्तानी गुप्तचरी निकाय इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आईएसआई) को एजेन्ट भएको दाबी गर्ने गर्थ्यो ।
नेपाल प्रहरीको विशेष ब्युरोका अधिकृतहरूका अनुसार नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा उनलाई भारतीय पक्षले हस्तान्तरण गरिदिन अनौपचारिक रूपमा आग्रह गरेको थियो । त्यसपछि हत्या गरेर फरार भएका गुड्डुसहितका समूह भारतको लखनउमा लुकेर बसेका थिए ।
गुड्डुका साथी बब्लु पासवानलाई पनि वीरगन्ज प्रहरीले १६ वैशाख २०८१ मा गोली हानी पक्राउ गरेको थियो । उनलाई सार्वजनिक गरेपछि वीरगन्जसँग सीमा जोडिएको भारतीय जिल्लाको प्रहरी नेतृत्व नै परिवर्तन भएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
सुरक्षा स्रोतका अनुसार वीरगन्ज कारागारमा रहेका पासवानले समेत कारागारबाट भाग्ने प्रयास गरेका थिए । तर, नेपाली सेनासमेत परिचालित भएकाले त्यहाँबाट धेरै कैदीबन्दी भाग्न पाएनन् ।
गुड्डुचाहिँ गोली लागेका कारण केन्द्रीय कारागारभित्र बैसाखी टेकेर हिँड्थे । ‘कारागारबाट भाग्ने बेलामा उनी अन्तिमतिर निस्किएको देखिन्छ,’ केन्द्रीय कारागारका एक सुरक्षा अधिकृतले भने, ‘त्यसपछि उनी सिधै बसपार्क पुगेको पाइएको छ ।’
गुड्ड मात्र होइन, नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसेर लागूऔषध तस्करीमा संलग्न गिरोहका नाइकेहरू पनि जेलबाट भागेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोले गोली हानी समातेका भारतको पश्चिम बङ्गाल, इस्लामपुर–११ का सादिक आलम र हेमन्त भगवत फरार भएका हुन् । ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइरालाका अनुसार सादिकको बायाँ खुट्टामा गोली लागेको थियो ।
त्यसबेला उनीसहितको समूहले प्रहरीलाई फलामको रडले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका थिए । आत्मरक्षामा प्रहरीले ४ राउन्ड हवाई र ३ राउन्ड सीधा गोली चलाएको कोइरालाले बताए । त्यसबेला आलमका साथी २२ वर्षीय मोहम्मद मन्जुर आलमको बायाँ खुट्टामा पनि दुई गोली लागेको थियो । उनीहरूलाई जिल्ला अदालत, काठमाडौँले २ साउन २०८२ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
फरार अर्का लागूऔषध कारोबारी हेमन्त भगवतलाई अदालतले १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई २८ जेठ २०८१ मा ब्युरोले गोली हानी पक्राउ गरेको थियो । दुवै आरोपी भारत भागिसकेको आशङ्का गरिएको छ । ब्युरोबाट अपरेसनमा खटिएका एक अधिकृतका अनुसार २४ भदौमा जति सङ्ख्यामा लागूऔषध कारोबारी भागेका छन्, तिनलाई फेरि समात्न वर्षौं लाग्न सक्छ ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कारागारमा सबैभन्दा धेरै कैदीबन्दी लागूऔषध मुद्दाका छन् । भाग्नेहरूमा पनि सोही कसुरका बढी रहेका छन् । लागूऔषध कारोबारको मुद्दामा बोलिभिया, ब्राजिल, जिम्बावे, युक्रेन, पाकिस्तान, मलेसिया, थाइल्यान्ड र दक्षिण अफ्रिकाका नागरिक पनि फरार छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाहिर २ साउन २०८० मा बरामद ६१ किलो सुन तस्करी प्रकरणका अधिकांश आरोपी पनि २४ भदौदेखि फरार छन् । प्रकरणका एक नाइके मानिएका बेल्जियन नागरिक दावा छिरिङ भनिने निमा तामाङ सम्पर्कविहीन छन् । उनले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका थिए । सोही सम्बन्धका कारण उनले माओवादी नेताहरूसँग समेत पहुँच विस्तार गरेका थिए ।
त्यही कारण यो प्रकरणको अनुसन्धानका क्रममा केही माओवादी नेताको संलग्नताबारे समेत जाँच हुनुपर्ने माग उठेको थियो । फरार हुने अन्यमा यही प्रकरणमा संलग्न एलेक्स भनिने याओ पुचेङ, ली वेन चुंग, याङ वेन, साउते डिङसेङफा र रोजर भनिने ली नङकाई छन् ।
भारतीय सिरियल किलर रइस मियाँसमेत कारागारबाट फरार भएका छन् । लामो समयदेखि सर्वाधिक खोजीमा रहेका उनीमाथि सात जनाको हत्या गरेको आरोप थियो ।
सप्तरी प्रहरीले लामो प्रयासपछि उनलाई २०७३ भदौमा पक्राउ गरेर ल्याएको थियो । पक्राउ परेपछि रइसले सप्तरीको साबिक सारस्वर गाविस–७ बाट नेपाली नागरिकता समेत लिएको खुलेको थियो ।
नेपाल प्रहरीको विशेष ब्युरोका प्रमुख रहिसकेका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालका अनुसार जघन्य अपराधमा संलग्न अपराधी भाग्नुले समाजमा त्रास त बढाउँछ नै, अनुसन्धान अधिकृतहरू स्वयं पनि असुरक्षित बन्न सक्छन् ।
‘यस्तोमा दक्षिण छिमेकका आरोपीहरूको हकमा उनीहरूलाई फेरि समात्न भारतीय पक्षसँग समन्वय गर्नुपर्छ,’ उनी भन्छन्, ‘अन्य मुलुकका अभियुक्तको हकमा परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्दै अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोग लिनुपर्छ ।’
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले फरार विदेशी अपराधीका सम्बन्धमा सम्बन्धित देशका दूतावासलाई जानकारी गराइसकिएको बताए ।
‘फरार आरोपीको सूची बनाएर परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली नियोगमा पठाइएको छ, त्यहाँबाट अन्य दूतावासमा पनि समन्वय हुन्छ,’ शर्माले भने, ‘भारतबाहेक अन्य देशका आरोपी सीमावर्ती क्षेत्रमा लुकेर बसेका हुन सक्ने भएकाले तिनको खोजी भइरहेको छ ।’
उनका अनुसार कोही आरोपी खुला सीमाको प्रयोग गरेर भारतबाट तेस्रो मुलुक जान खोज्ने सम्भावना भएकाले त्यसबारे पनि जानकारी गराइसकिएको छ । ‘यो विषयमा अरू मुलुकले समेत चासो राखेका छन्,’ शर्मा भन्छन्, ‘त्यसैले उनीहरू समातिनेमा हामी आशावादी छौँ ।’
आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया