जर्मनीका एक पालयाटिभ केयर नर्सलाई १० जना बिरामीको हत्या र अन्य २७ जनाको हत्या प्रयासको मुद्दामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको छ ।
अभियोजन पक्षका अनुसार ती नर्सले (जसको नाम सार्वजनिक गरिएको छैन) मुख्य रूपमा वृद्धावस्थाका बिरामीहरूलाई र सिडेटिभ औषधि अत्यधिक मात्रामा लगाइदिएको बताइएको छ । जसको उद्देश्य राति ड्युटीका समयमा आफ्नो कार्यभार कम गर्नु थियो ।
यी घटनाहरू २०२३ डिसेम्बरदेखि २०२४ मे महिनासम्म जर्मनीको पश्चिमी क्षेत्र वुयर्सेलेनस्थित एक अस्पतालमा भएको थियो । अनुसन्धानकर्ताहरूले उनको करिअरभरि भएका अन्य शंकास्पद घटनाहरूको पनि अनुसन्धान भइरहेको छ ।
फ्रेन्च समाचार एजेन्सी एएफपीका अनुसार उक्त नर्स २००७ मा नर्सिङ तालिम पूरा गरेपछि २०२० देखि वुयर्सेलेनको सो अस्पतालमा कार्यरत थिइन् । अभियोजन पक्षले अदालतमा उनले बढी हेरचाह आवश्यक पर्ने बिरामीहरूप्रति ‘झर्कोपन’ र सहानुभूतिको अभाव देखाउने गरेको बयान दियो, साथै उनलाई ‘जीवन र मृत्युको मालिक’ बनेको आरोप लगाएको थियो ।
अदालतलाई दिएको बयान अनुसार उनले राति ड्युटीका बेला काम कम गर्न बिरामीहरूलाई मोर्फिन र मिडाजोलामको ठूलो मात्रामा इंजेक्सन दिने गर्थिन् । उनी २०२४ मा पक्राउ परेका थिइन् ।
अदालतले आजीवन कारावास फैसला सुनाउँदै उनको अपराध ‘गम्भीर नैतिक दोष’ भएको उल्लेख गर्यो, जसका कारण १५ वर्षपछि हुने प्रारम्भिक रिहाइको सम्भावना हटाइदिएको हो । तर, उनलाई फैसलाविरुद्ध अपील गर्ने अधिकार भने हुनेछ । अभियोजन पक्षले एएफपीलाई दिएको जानकारी अनुसार सम्भावित थप पीडितहरूको पहिचानका लागि अहिले केही शव उत्खनन गरी जाँच भइरहेको छ । थप प्रमाण पुष्टि भएमा उनीमाथि फेरि मुद्दा चल्न सक्छ ।
यस प्रकरणले २०१९ मा ८५ बिरामी हत्या गरेको अभियोगमा आजीवन कारावास पाएका पूर्व नर्स निल्स हेगेलको घटनालाई स्मरण गराउँछ । हेगेलले १९९९ देखि २००५ सम्म उत्तरी जर्मनीका दुई अस्पतालमा हृदयसम्बन्धी औषधिको घातक मात्रा दिएर बिरामीहरूको जीवन अन्त्य गरेको ठहरिएको थियो । उनलाई आधुनिक जर्मन इतिहासकी सबैभन्दा कुख्यात श्रेणीका क्रमिक हत्यारामध्ये एक मानिन्छ ।
प्रतिक्रिया