नेप्सेमा एकैदिन तीन वित्तीय संस्था सूचीकृत, दोस्रो बजारमा कारोबार सुरु

बुधबार, २६ कार्तिक २०८२

 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन वित्तीय तथा लघुवित्तीय गरि विभिन्न तीन संस्था सूचीकृत भएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, स्वस्तिक लघुवित्त वित्तीय संस्था र बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड सोमबार नेप्सेमा सूचीकृत भएका हुन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १० वर्ष अवधिको ऋणपत्र सूचीकृत भएको हो । बैंकले ८ प्रतिशत ब्याजदर भएको अंकित तथ चुक्ता मूल्य १ हजार दरका कुल १० लाख कित्ता ऋणपत्र (शाइन रेसुङ्गा डिवेन्चर) सूचीकृत गराएको छ । उक्त ऋणपत्र आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

यस्तै, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ लाख ३१ हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ३ लाख ४६ हजार ५०० कित्ता गरी कुल ५ लाख ७७ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १७१ रुपैयाँ ७८ पैसादेखि ५१५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आजद्खि बजारमा कम्पनीले शेयर कारोबार थालनी गरेको छ ।

यसैगरी, बन्दीपुर केबुलकारको पनि २ करोड ८३ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। २०.७१ प्रतिशत सर्वसाधारण समूहतर्फ र ७९.२९ प्रतिशत हिस्सा संस्थापक समूहको शेयर रहेको छ । नेप्सेले कम्पनीलाई बीएएनडीआईपीयूआर कोड नाम प्रदान गरेको छ । यस कम्पनीले पनि शेयर कारोबार आजैदेखि सुरु गरेको छ । कम्पनीको पहिलो कारोबारका लागि ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसाको सीमा तोकिएको छ । प्रतिशेयर नेटवर्थ र त्यसको तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य रेञ्ज तोकिँने प्रावधान अनुसार होटल तथा पर्यटन समूहमा बन्दीपुर केबुलकारको कम्पनी सूचीकृत भएको हो ।

तनहुँको बन्दीपुरमा गत वर्षको जेठ ३१ गतेबाट व्यावसायिक रुपमा केबलकार सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार