झापा । कम्प्युटर एशोसिएसन नेपाल क्यान महासंघ झापा जिल्ला शाखाको ११औं वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ।
कार्यक्रम शाखा अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षता र क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
साधारणसभामा सचिव खगेन्द्र मिश्रले विगत वर्षको गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गरे। उनले समितिले निर्वाचित भएयता सूचना प्रविधि प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
उनका अनुसार झापा शाखाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाएको, सडक दुर्घटनासम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको, स्वीस दूतावासका प्रतिनिधिसँग छलफल गरी परियोजना सञ्चालनको वातावरण तयार गरेको र हेल्भेटासको सहकार्यमा ‘प्रयास प्रारम्भ’ कार्यक्रममार्फत ४० जनालाई सीप अभिवृद्धि तालिम दिएको थियो।
गत आर्थिक वर्षको सूचना प्रविधि दिवसका अवसरमा विज्ञहरुसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, हेल्भेटास नेपाल तथा क्यान पदाधिकारीबीच १४ वटा विद्यालयमा भेटघाट कार्यक्रम सम्पन्न गरिएको उल्लेख गरिएको छ।
कोषाध्यक्ष जेनिशा पोखरेलले आर्थिक वर्ष २०८१र८२ को वित्तीय विवरण प्रस्तुत गर्दै झापा शाखाले सो अवधिमा १ लाख ८७ हजार ६१० रुपैयाँ आम्दानी गरी १ लाख ४३ हजार ४२० रुपैयाँ खर्च गरेको जानकारी दिइन्। हेल्भेटासको इन्स्योर परियोजनाले तालिम सञ्चालनको अवसर प्रदान गरेपछि केही रकम बचत गर्न सफल भएको उनको भनाइ थियो।
साधारणसभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गर्यो।
कार्यक्रममा प्रमुख अतिथि ठाकुरकुमार श्रेष्ठ, पूर्व केन्द्रीय सचिव भुपेन्द्र मैनाली, संस्थापक अध्यक्ष दिपेश पाठक, निवर्तमान अध्यक्ष तथा कोशी प्रदेश सचिव कृष्ण घिमिरे र इक्यान झापाका अध्यक्ष राजकुमार कार्कीले क्यान महासंघको भूमिका, सदस्यताको गुणस्तर र आगामी दिशा–निर्देशनबारे सुझावसहित आफ्नो धारणा राखे।
कार्यक्रममा उपाध्यक्ष लोकप्रिय खानालले स्वागत मन्तव्य दिए भने अध्यक्ष शुभ कुमाई पाठकले झापा शाखालाई अझ सुदृढ र क्रियाशील बनाउन सबैको सुझाव र सहयोग आवश्यक रहेको बताएकी थिइन् । उनले शाखाको सचिवालय यसै सातादेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने बताएकी छिन् ।
कार्यक्रममा सीप अभिवृद्धि तालिममा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
प्रतिक्रिया