मेची करिडोर र सिमलगोलाई–तिल्केनी सडक उच्च प्राथमिकतामा : सडक डिभिजन

बुधबार, २६ कार्तिक २०८२

इलाम । सडक डिभिजन इलामले मेची करिडोर र सिमलगोलाई–तिल्केनी सडक दुवैलाई आगामी योजनामा उच्च प्राथमिकतामा राख्दै कार्य अगाडि बढाउन सडक विभागमा औपचारिक अनुरोध गरेको जनाएको छ। डिभिजनका प्रमुख पवन भट्टराईका अनुसार आगामी कार्य योजना तीन चरणमा कार्यान्वयन गर्ने सुझावसहित विभागमा पत्राचार गरिएको हो।

भट्टराईका अनुसार तत्काल गर्नुपर्ने, आगामी वर्षा अघि सम्पन्न गर्नुपर्ने र दीर्घकालीन रूपमा अघि बढाउनुपर्ने कार्यहरू अलग–अलग रूपमा वर्गीकरण गरी प्रस्ताव पठाइएको छ। उनका अनुसार, मेची करिडोरको कालोपत्रे स्तरोन्नतिको ठेक्का सडक विभागले धेरै वर्षअघि नै लगाइसकेको भए पनि हालसम्मका केही ठेक्का कार्य सम्पन्न गर्न बाँकी रहेको छ।

हाल पुवा खोलामा पक्की पुल र बेली ब्रिज निर्माण, बेलासे पुलको मर्मत तथा पुनर्निर्माणका कामहरू भइरहेको र आवश्यक बजेट प्राप्त हुनासाथ काम तीव्र गतिमा अघि बढाइने डिभिजनले जनाएको छ।

त्यस्तै, सिमलगोलाई–तिल्केनी सडकमा गत वर्षदेखि सडक चौडा गर्ने र बेली ब्रिज राख्ने कार्य अघि बढाइएको छ। यी दुवै सडकलाई इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका लागि दीर्घकालीन दृष्टिले अत्यावश्यक मान्दै डिभिजनले उच्च प्राथमिकता दिएको हो।

सडक डिभिजनले सिमलगोलाई सडक कालोपत्रे गर्न, जोगमाई खोलामा पक्की पुल र बेली ब्रिज निर्माण, बज्रदेवी पुलको दिगो मर्मत तथा नदी नियन्त्रणका कार्यका लागि समेत बजेट माग गरेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार