काठमाडौं : ३० वर्षे प्रहरी सेवायात्रा पूरा गर्दै प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङ्ग बुधबार औपचारिक रूपमा सेवा निवृत्त भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहबीच नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुभकामना सहित बिदाइ गरे ।
खापुङ्गसँगै प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र सञ्जीव शर्मा दास पनि बिदाइ भए ।
बिदाइ समारोहमा नवनियुक्त आइजीपी कार्कीले निवृत्त हुने वरिष्ठ अधिकृतहरूलाई सम्मानस्वरूप कृतज्ञताको चिनो प्रदान गर्दै “प्रहरी सेवामा उहाँहरूको समर्पण र अनुशासन भावी पुस्ताका लागि प्रेरणादायी हुनेछ” भन्दै धन्यवाद ज्ञापन गरे ।
प्रहरीको मनोबल र अस्तित्व जोगाउन हरसम्भव प्रयास गरेँ — खापुङ्ग
बिदाइ समारोहमा आइजीपी खापुङ्गले आफ्नो नेतृत्वकाललाई स्मरण गर्दै भने,“प्रहरी संगठनको महानिरीक्षकको रूपमा देश र जनताको सुरक्षाको जिम्मेवारी वहन गर्नु मेरो जीवनको सर्वश्रेष्ठ सम्मान हो । राजनीतिक परिवर्तनको संवेदनशील समयमा संगठनको अस्तित्व जोगाउँदै प्रहरीको मनोबल उकास्न प्रयास गरें ।”
खापुङ्गले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई बधाई दिँदै “उहाँ व्यावसायिक, कर्तव्यनिष्ठ र दुरदर्शी नेतृत्व हुनुहुन्छ । उहाँको कार्यकालमा नेपाल प्रहरी अझ उच्चतम उचाइमा पुग्ने विश्वास लिएको छु,” भने ।
खापुङ्गले आफ्नो कार्यकालमा प्राप्त सहकार्यका लागि सम्पूर्ण प्रहरी अधिकृत र जवानहरूलाई आभार प्रकट गरे । समारोहमा उनले आफ्नो कार्यकालमा सम्पन्न भएका प्रमुख उपलब्धि र आगामी योजना समेटिएको कार्यसम्पादन प्रतिवेदन पनि नवनियुक्त आइजीपी कार्कीलाई हस्तान्तरण गरे ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गलाई समेत श्रीमती नविना कार्कीले शुभकामना सहित बिदाइ गरिन् ।
गृहमन्त्रीले गृह मन्त्रालयमा गरे बिदाइ
गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा आइजीपी खापुङ्गलाई शुभकामना सहित बिदाइ गरे ।
गृहमन्त्री अर्यालले खापुङ्गको ३० वर्षे सेवायात्रालाई “देशको आन्तरिक सुरक्षाको सुदृढीकरणमा अमूल्य योगदान” भन्दै प्रशंसा गरे ।
“अवकाशपश्चात पनि उहाँको अनुभव र दृष्टिकोणले प्रहरी संगठनलाई थप सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गर्दछु,” गृहमन्त्री अर्यालले भने ।
गृहसचिव रामेश्वर दंगालले पनि खापुङ्गको नेतृत्वमा प्रहरी सेवाले उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै सेवा निवृत्त जीवन “स्वस्थ, रचनात्मक र क्रियाशील” रहोस् भन्ने शुभकामना व्यक्त गरे ।
अग्रजको मार्गमा अघि बढ्ने प्रतिबद्धता
नवनियुक्त आइजीपी दानबहादुर कार्कीले बिदाइ समारोहमा खापुङ्गको योगदानलाई उच्च प्रशंसा गर्दै भने,
“हाम्रा अग्रजहरूले थालनी गर्नुभएको अनुकरणीय कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई अझ सक्षम, जनमुखी र प्रविधिमैत्री बनाउने मेरो प्राथमिकता हुनेछ ।”
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, गृह मन्त्रालयका उच्च अधिकारीहरू तथा नेपाल प्रहरी श्रीमती संघका सदस्यहरूको उपस्थिति थियो ।
प्रतिक्रिया