काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा फर्किने नेताहरूलाई उचित र सम्मानजनक जिम्मेवारी दिने स्पष्ट सन्देश दिएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित ‘घर फर्क अभियान’ अन्तर्गतको भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विभिन्न कारणले पार्टीबाहिर पुगेका नेताकार्यकर्ताले पुनः एमालेमा प्रवेश गरेपछि आफूहरूको राजनीतिक योगदान र हैसियतअनुसार जिम्मेवारी पाउने बताए ।
उनले भने, “फर्किने कसैलाई पनि जिम्मेवारीविहीन बनाइने छैन । पार्टी छोड्दाको हैसियतभन्दा तलको व्यवहार कसैसँग हुने छैन ।”
महासचिव पोखरेलका अनुसार पार्टी अब ‘पुनर्गठन र सुदृढीकरणको निर्णायक चरण’मा छ । उनले महाधिवेशनअघि नै जिम्मेवारी बाँडफाँडको प्रक्रिया टुंग्याइने बताउँदै थपे, “कसलाई कहाँ र के जिम्मेवारी दिने भन्ने विषयमा पार्टीभित्र गम्भीर छलफल हुनेछ । विगतको योगदान र जिम्मेवारीका आधारमा योग्य स्थान दिइन्छ ।”
उनले ‘घर फर्क अभियान’लाई एमालेलाई पुनः एकीकृत र सशक्त बनाउने राजनीतिक अभियानका रूपमा व्याख्या गर्दै भने, “यो केवल प्रवेश अभियान होइन, आदर्शमा फर्किने यात्रा हो ।”
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले पनि आसन्न ११औँ महाधिवेशनको तयारी अन्तर्गत प्रतिनिधि छनोटदेखि विभिन्न विषयगत समिति र उपसमितिमा जिम्मेवारी बाँड्ने कार्य सुरु भइसकेको जानकारी दिए ।
उनका अनुसार, घर फर्किएका नेताहरूमध्ये धेरैलाई महाधिवेशन आयोजक समितिमा समावेश गर्ने तयारी पार्टीले गरेको छ ।
प्रतिक्रिया