ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय

बुधबार, २६ कार्तिक २०८२

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बुधबार राजधानीमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ का सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

सभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै लाभांश वितरण गर्ने निर्णय गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा बैंकले ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र ५ अर्ब ७ करोड करपछिको मुनाफा आर्जन गरेको थियो ।

अध्यक्ष ढकालले भने, “नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति, नियमहरूको पूर्ण पालना गर्दै बैंक शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्न प्रतिबद्ध छ ।” उनले आगामी दिनमा नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तारमार्फत सेवा विस्तारलाई निरन्तरता दिने योजना रहेको पनि स्पष्ट पारे ।

सभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जका प्रतिनिधिहरू, संस्थागत र व्यक्तिगत शेयरधनी, सञ्चारकर्मी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकले पछिल्ला वर्षहरूमा “बैंक अफ द इयर २०१४”, “बेस्ट इन्टरनेट बैंक २०१६”, “बेस्ट बैंक नेपाल २०२४ र २०२५”, “युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५”, “बेस्ट बैंक ईएसजी नेपाल २०२४” र “बेस्ट इम्प्लोयर” लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ ।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकसँग ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रहरू सञ्चालनमा छन् ।

बैंकले रेमिट्यान्स मार्फत अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशबाट नेपाली नागरिकहरूलाई आर्थिक सेवा प्रदान गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु¥याइरहेको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार