चुनाव नजिकिँदै,काँग्रेसमा द्वन्द्व गहिरिँदै : सिंगापुरबाट फर्किएलगत्तै देउवाको दौडधुप तीव्र

सोमबार, ०१ मंसिर २०८२

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचारपछि स्वदेश फर्किएलगत्तै राजनीतिक गतिविधिमा सक्रिय बनेका छन्।

भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा ‘जेन-जी’ प्रदर्शनकारीको कुटपिटबाट गम्भीर घाइते भएका देउवा कात्तिक १० गते उपचारका लागि पत्नी डा. आरजु राणा देउवासँग सिंगापुर गएका थिए। १८ दिनको उपचारपछि शुक्रवार राति स्वदेश फर्किएका देउवा अहिले राजनीतिक गतिविधिमा सक्रिय छन्।

उपचारबाट फर्केलगत्तै देउवाले नेताहरूलाई छलफलमा बोलाउन थालेका छन्। स्वदेश फर्किएको भोलिपल्ट शनिवार उनले पहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गरे। त्यसपछि पार्टी प्रवक्ता तथा विश्वासपात्र डा. प्रकाशशरण महतसँग भेट भयो। शनिवार साँझ देउवाले संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल पनि गरे।

शनिवार साँझ चार नेता देउवाको भाडाको निवासमा पुगेका थिए। महतसहित एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई संयुक्त रूपमा उनले भेटे।

देउवाले नेताहरूलाई बोलाएर पार्टीमा चलिरहेको विवादबारे छलफल गरिरहेकाछन्। भेटमा सहभागी महतका अनुसार, देउवाले चुनावको तयारी गर्नुपर्ने र पार्टी विवाद मिलाउनुपर्ने धारणा राखे। महतले भने, “उनको कुरा सुन्दा चुनावपछि नै महाधिवेशन गर्नु उपयुक्त हुन्छजस्तो लाग्यो।” देउवाले आइतबार महामन्त्री विश्वप्रकाश शर्मालाई पनि बोलाएर पार्टीभित्र देखिएको मतभेदबारे छलफल गरेका छन्।

काँग्रेसमा चुनावअघि महाधिवेशन गर्नुपर्ने वा नगर्नुपर्ने दुई धारणा छन्। संस्थापन पक्ष चुनावपछि महाधिवेशन गर्ने पक्षमा छ। तर गगन थापा र विश्वप्रकाश शर्मा भने नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन्। यही विवादका कारण असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठक निष्कर्षमा पुग्न सकेको छैन। संस्थापन इतर नेता डा. शेखर कोइराला पनि चुनावअघि महाधिवेशनको पक्षमा छन्।

संस्थापन पक्षभित्रै पनि एकमत छैन। संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन गर्न माग गर्दै कार्यवाहक सभापति खड्कालाई ज्ञापनपत्र बुझाइसकेका छन्। देउवाले शनिवार आफ्ना निकट चार नेतासँग दुई घण्टा बढी छलफल गर्दै पार्टी विवादबारे जानकारी लिएको बताइएको छ। देउवाले चाँडै पूर्वपदाधिकारी र संस्थापन पक्षका २४ सदस्यहरूसँग पनि छुट्टै भेट गर्ने तयारी गरिरहेका छन्।


निर्वाचनपछि महाधिवेशन गर्ने वातावरण बनाइदिन आग्रह

संस्थापन पक्षका केही नेताले फागुन २१ अघि क्रियाशील सदस्यता टुंगो लगाएर निर्वाचनपछि १५औँ महाधिवेशन गर्ने पहल गर्न देउवामा आग्रह गरेका छन्। शनिवार भेट्न पुगेका महत, खाँण, कार्की र साउद सहितका नेताले चैत वा वैशाखमा महाधिवेशन गर्दा उपयुक्त हुने सुझाव दिएका हुन्। महतका अनुसार, “चुनावअघि महाधिवेशन गरे विवादले चुनावलाई असर गर्छ, त्यसैले चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने सुझाव हामीले दिएका छौँ।” जवाफमा देउवाले कार्यवाहकलाई जिम्मेवारी दिएको र मिलाएर अघि बढ्नुपर्ने बताएका छन्।

उता कार्यवाहक सभापति खड्काले शनिवार पूर्वपदाधिकारीसँग पनि छलफल गरे। शनिवार संस्थापन पक्षीय नेताहरूले काठमाडौँमा भेला पनि आयोजना गरे। एक महिनासम्म चलेको केन्द्रीय समितिबाट पनि काँग्रेसले महाधिवेशन र चुनावबारे निर्णय गर्न सकेको छैन। देउवा फर्किएसँगै बोलाइएको केन्द्रीय समिति बैठक सोमबार दिउँसो २ बजे बस्दै छ। तर सहमति जुट्ने अवस्था अझै बनेको छैन।


केन्द्रीय समितिको म्याद थपको विकल्प छैन : सहमहामन्त्री यादव

काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले फागुन २१ को प्रतिनिधिसभा चुनावअघि महाधिवेशन नहुने दाबी गरेका छन्। चुनावअघि महाधिवेशन गर्ने कुरा नै नउठ्ने भन्दै उनले चुनावपछि कसरी सहमति जुटाउने भन्ने विषयमा अहिले छलफल भइरहेको बताए। महाधिवेशन गर्दा तल्लो तहले स्वीकार नगर्ने हुँदा विशेष महाधिवेशनको सम्भावना पनि नरहेको उनको तर्क छ।

केन्द्रीय कार्यसमितिको म्याद थपिएको आरोपबारे यादवले भने, “नियमित महाधिवेशन गरे पनि विशेष महाधिवेशन भए पनि म्याद थप त गर्नैपर्ने हुन्छ। २०७८ मङ्सिर २४ देखि २८ सम्म महाधिवेशन भएको र चार वर्षे कार्यकाल भएकाले मङ्सिर २८ गतेसम्म समय छ। त्यसपछि त म्याद थप्नै पर्छ, पार्टीलाई शून्यतामा जान दिन मिल्दैन।”


विशेष महाधिवेशन रोक्ने अधिकार कसैसँग छैन : प्रदीप पौडेल

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेता भने पुसभित्र नियमित महाधिवेशन नभए मङ्सिर मै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित उनीहरूले विशेष महाधिवेशनको माग समेत राखिसकेका छन्।

काँग्रेस नेता प्रदीप पौडेलका अनुसार, अब पार्टीसँग दुई विकल्प मात्रै छन्—नियमित महाधिवेशन वा विशेष महाधिवेशन। उनले भने, “निर्वाचनअघि महाधिवेशन वा विशेष अधिवेशन, यही दुई विकल्प छन्। निर्वाचनपछि अधिवेशन भनेको विशेष अधिवेशनपछि हुने अधिवेशन हो। त्यसैले चुनावपछि जानै परे विशेष महाधिवेशन गर्नैपर्छ। पुसभित्र महाधिवेशनको सबै कार्यक्रम सार्वजनिक गरे विशेष महाधिवेशन रोकिन सक्छ। नभए विशेष अधिवेशन रोकिँदैन।”

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार