ताप्लेजुङ / ताप्लेजुङ स्थित पाथीभरा मन्दिरमा केबुलकार निर्माण गर्ने चर्चा चलेको वर्षौँ भयो । तर यसको काम अगाडी बढ्न सकेको छैन । काम सुरु नभए पनि परियोजना स्थानीयको एजेन्डा बनेको छ ।
मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबुलकार निर्माणमा अवरोध गरेपछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा ताप्लेजुङ र वरपरका विभिन्न सङ्घसंस्थाले निर्माण तत्कालै थाल्न दबाब सिर्जना गर्न थालेका हुन् ।
केबुलकार निर्माण सुरु गर्नुपर्ने माग गर्दै पछिल्लो समय जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरू जनमत निर्माण गर्न लागिपरेका छन् ।साथै यहाँको नागरिक समाजले केबुलकार निर्माणका लागि दबाब दिँदै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा जनप्रदर्शनसमेत गरेको छ । निर्माणको काम चाँडै सुरु गर्न दबाब सिर्जना गर्दै नागरिक समाजका तर्फबाट पाँच सय एक सदस्यीय दबाब समूह पनि निर्माण गरिएको छ ।
उता स्थानीयहरूकै पहलमा पदम चेञ्जी मावो लिम्बु संयोजक र प्रकाश मादेन लिम्बु सहसंयोजक रहेको केबुलकार निर्माण सहयोग समिति गठन गरी नागरिक समाजका तर्फबाट पनि निर्माणको काम चाँडै सुरु गर्न दबाब दिन थालिएको छ ।
केबुलकार निर्माणपश्चात् जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने, रोजगारी सिर्जना हुने तथा स्थानीय उत्पादनले बजार पाइ जिल्लाको अर्थतन्त्र चलायमान हुने भएकाले यस बृहत् परियोजनालाई जिल्लामा स्वागत गर्नुपर्ने भन्दै यहाँका प्रायः सबै राजनीतिक दल तथा निजी क्षेत्रका सङ्घसंस्था आ-आफ्ना बैठक तथा विज्ञप्तिमार्फत आह्वान गरिरहेका छन् ।
ताप्लेजुङका निजी क्षेत्रका व्यावसायिक सङ्घसंस्थाहरू नेपाल उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घ ताप्लेजुङले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा केबुलकार निर्माण गर्न सबैले सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।
अहिले पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब तीन लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । यहाँ केबुलकार निर्माण गर्न सकिएमा यहाँ बर्सेनि १२ लाखभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ ।
जिल्लाको पर्यटन प्रवर्द्धनमा अझ फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा सहयोगी हुने निश्चित रहेको निजी क्षेत्रले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कम्पनीले स्थानीयलाई पनि शेयर प्राप्त दिने ढाँचामा यसको विकास गरिरहेको छ । यसबाट सिङ्गो प्रदेश सरकार, स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष लाभ हुने मोडलबाट केबलकार निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीका इन्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबुलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्न सकिनेछ ।
प्रतिक्रिया