इलाम / सिंहबाहिनी धार्मिक क्षेत्र विकास समिति इलामले काठमाडौँमा विशेष भेला गर्दै मन्दिरको संरक्षणमा सहयोग गर्न काठमाडौँमा रहेका इलामेलीलाई अपिल गरेको छ ।
समितिका अध्यक्ष राजीव न्यौपानेको नेतृत्वमा इलामबाट काठमाडौँ पुगेको टोलीले काठमाडौँमा कर्मथलो बनाएका इलामेलीलाई मन्दिरको वर्तमान अवस्थाको बारे अवगत गराउँदै मन्दिरका लागि तयार पारिएको गुरुयोजनाका बारे जानकारी सहित सहयोगका लागि अपिल गरेको हो ।
सिंहबाहिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष राजीव न्यौपानेले पाथीभरा मन्दिरभन्दा पनि पुरानो इलामको धार्मिक स्थल सिंहबाहिनीको संरक्षणसँगै भौतिक संरचना निर्माणका लागि २ करोड २७ लाख ९ हजार ७ सय २३ दशमलव ८५ पैसा रुपैयाँको बजेटको डीपीआर नक्सा तयार पारिएकोले उक्त रकम जुटाउनका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखे । ‘सिंहबाहिनी मन्दिरसँग पिता पुर्खाको पुस्ता, हाम्रो पुस्ताको भावनात्मक सम्बन्ध छ । मन्दिरको स्वामित्वमा १५ रोपनी क्षेत्रफलको जग्गा छ ।
मन्दिरको संरक्षणसँगै अन्य भौतिक सामाग्री जोड्न सकेमा त्यसलाई पर्यटनको थप गन्तव्यका रूपमा बनाउन सकिन्छ’, उनले भने ।
इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित सङ्घीय सांसद सुहाङ नेम्बाङले मन्दिर क्षेत्रको विकासका लागि आफूले पहल गर्ने आश्वासन दिए ।
उनले आफूले निर्वाचनको समयमा गरेको प्रतिबद्धतालाई पुरा गर्न सक्रिय रहेकाले मन्दिर संरक्षणका लागि पहल गर्ने आश्वासन दिए ।
क्षेत्र नम्बर १ का सङ्घीय सांसद महेश बस्नेतले आफू इलाम नगरपालिकाको दुई पटक मेयरमा निर्वाचित हुँदा र त्यसअघि देखि पनि मन्दिरको संरक्षण तथा विकासका लागि पहल गरिरहेको स्मरण गरे ।
समितिले तयार पारेको डीपीआरलाई सबैको सल्लाहमा परिमार्जन गर्न सके अझ राम्रो हुने सुझाव दिए ।
उनले सङ्घीय सरकारको बजेट निर्माणको अन्तिम चरणमा रहेकाले कसरी बजेट जुटाउन सकिन्छ भन्नेमा आफू लागि पर्ने बताए । उनले प्रदेशमा नयाँ सरकार गठन भएको र त्यहाँ बजेटको काम सुरु हुन बाँकी रहेकाले त्यता पनि पहल गर्न समितिलाई आग्रह गरे ।
भेलाका सहभागी डिल्ली शिवाकोटीले मन्दिरलाई भौतिकदेखि आर्थिक सहयोग गर्दै आएका दाताहरूसँग समितिले पुनः एक पटक समन्वय गर्न सकेमा थप सहयोग पाउन सक्ने बताए ।
अर्का सहभागी वसन्त पराजुलीले मन्दिरको संरक्षणका लागि आफू र परिवारको तर्फबाट सहयोग हुने प्रतिबद्धता जाहेर गरे ।
त्यस्तै सुरेश नेम्बाङले गुरुयोजनासहित मन्दिर संरक्षणका लागि योजना बनाउनु खुसीको कुरा रहेको बताउँदै मन्दिर परिसरमा भौतिक संरचना थप्नु मन्दिर र जमिनका लागि थप खतरायुक्त हुने बताए ।
उनले मन्दिरमा ठुला भौतिक संरचना थप्नुभन्दा भएका संरचनाको सही व्यवस्थापन गर्न सुझाव दिए ।
भेलाले राधेश्याम लेकालीको संयोजकत्वमा काठमाडौँ समन्वय समिति गठन गरेको छ । समितिको सदस्यमा पदम विश्वकर्मा, शङ्कर खड्का, दुर्गा उप्रेती, ईश्वर श्रेष्ठ, सुचित्रा श्रेष्ठ, विमलप्रसाद शिवाकोटी, दीर्घप्रसाद निरौला छन् ।
समितिको आमन्त्रित सदस्यमा रमेश अधिकारी छन् ।
समितिको सल्लाहकारमा सङ्घीय सांसदद्वय महेश बस्नेत र सुहाङ नेम्बाङ, लोकनाथ सुवेदी, वसन्त पराजुली, डिल्ली शिवाकोटी र सुरेश नेम्बाङ छन् ।
प्रतिक्रिया