विस्तृत परियोजना प्रस्ताव (डिपिआर) अनुसार यस भ्यू टावरको भुइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल, चारवटा तलामा व्यापारिक प्रयोजनका पसलहरु, पाँचौँ तलामा सेमिनार हल, छैटौँदेखि नवौँ तलासम्म बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, दशौँदेखि चौधौैँ तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौँ र सोह्रौँ तलामा रेस्टुरेन्ट र लज रहनेछन भने सत्रौँ र अठारौँ तलामा दृश्यावलोकन उपकरणसहितको कक्ष रहनेछ ।यो भ्यू टावरको ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए तर कोभिड–१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण समयमै निर्माण सम्पन्न हुन नसकेपछि यसको निर्माण कार्य अवधि थप गरीएको थियो । झापाको दमक बजारबाट झण्डै तीन किलोमिटर पश्चिम उत्तरमा निर्माण सम्पन्न राष्ट्रिय गौरबको आयोजनाको रुपमा हेरिएको यो टावर समग्र पुर्वी नेपालकै पर्यटन विकासमा महत्वपूर्ण हुने विश्वास लिइएको छ । भ्यू टवर लगानीको दृष्टिकोणले नेपालको दोस्रो ठूलो टावर हो । यो काठमाडौँको पुनःनिर्माण भएको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो हो ।
प्रतिक्रिया