विराटनगर । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अयोग्य लडाकुलाई रकम उपलब्ध गराउनुभन्दा पनि रोजगारीको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् ।
विराटनगरमा शुक्रबार कांग्रेस नगर तथा प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभासदस्य कोइरालाले अयोग्य लडाकुलाई रकम उपलब्ध गराउने सरकारको निर्णयप्रति आपत्ति जनाएका थिए ।
सोही क्रममा उनले भने, ‘अयोग्य लडाकुलाई सरकारको रकम दिँदा कम्तीमा ८० करोड रुपैयाँ खर्च हुने देखिन्छ। यो गलत छ। यहाँ कर्मचारीलाई तलब दिन धौ–धौ छ। सरकारले पूर्व शिक्षकहरूलाई पेन्सन उपलब्ध गराउन सकेको छैन। यस्तो अवस्थामा लडाकुलाई रकम दिइनु गलत छ।’
लडाकुलाई अनमिनले अयोग्य बनाएको बताउँदै कोइरालाले भने, ‘पूर्वलडाकुलाई अनमिनले अयोग्य बनाएको हो। यसमा हामी दोषी छैनौँ । पूर्वलडाकुलाई रकमको स्थानमा रोजगारीको व्यवस्था सरकारले गर्नुपर्छ। उनीहरूलाई स्वरोजगार बनाउन सरकार सक्षम हुनुपर्छ। जसले उनीहरूको जीविकापोर्जनमा सहजता दिनेछ।’
त्यसैगरी केन्द्रीय सदस्य कोइरालाले पछिल्लो राजनीतिक घटनाक्रममा पार्टीका नेताहरू सच्चिनुपर्ने अवस्था रहेको बताएका थिए । कोइरालाले सच्चिने कि सक्किने भनाइलाई लक्षित गर्दै पार्टीका समग्र नेताहरू सच्चिन आवश्यक भएको बताए ।
सम्मेलनमा डा. कोइरालाले भने, ‘हामीमा केन्द्रीकृत मानसिकता अझै पनि छ। त्यसलाई चिर्न आवश्यक छ। तल्लो तहबाटै पार्टीको कमीकमजोरी सुधार गर्ने गरी सुझाव लिनुपर्छ। सुध्रिने अब हामी हो। हामीमा भएका कमीकमजोरीलाई सुधार्ने हो ।’
कोइरालाले कांग्रेसका लागि उपनिर्वाचनको परिणाम दुःखद भएको बताए। उनले भने, ‘उपनिर्वाचनको परिणामले हामी सबैलाई घचघच्याइरहेको छ। अब पनि पार्टी संगठित भएर चल्छ भनेर सोच्नु गलत हुनेछ। पार्टी यसरी चल्न सक्दैन। तैपनि, हामी निराश भएर अघि बढ्नु हुँदैन । हामी सबैले आशामा बाँच्नुपर्छ। पार्टीलाई जीवन्तता दिन कर्म गर्ने हो ।’
उनले पार्टी छाडेर जानेहरूलाई पुनः फर्कन सुझाव दिए। केन्द्रीय सदस्य डा. कोइरालाले भने, ‘कांग्रेसको बाटो बिराए पुनः फर्कनुहोस्। आउनुस् एक भएर अघि बढौं, गन्तव्यमा पुगौं। उपनिर्वाचनले धेरै पाठ सिकाएको छ। कमीकमजोरी देखायो। त्यसलाई सुधार्दै अघि बढ्नु आवश्यक छ।’
Discussion about this post