इटहरी / इटहरीमा एक महिलाको बीभत्स हत्या भएको छ । इटहरी २ राईचोकस्थित ६९ वर्षीेया मधुमाया पुरीको सोमबार दिउँसो ३ बजेतिर हत्या भएको हो ।
स्थानीय अन्दाजी ४० वर्षीय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ ।
‘घटनाको कारणबारे खुल्न बाँकी छ,’ इन्सपेक्टर कैलाश चौधरी भने, ‘आपसी झगडामा हत्या भएको देखिन्छ । संलग्नलाई नियन्त्रणमा लिएका छौँ ।’ प्रहरीले घटनामा संलग्न राईलाई नियन्त्रणमा लिएको छ ।
खुकुरी प्रहार गर्ने राईले पटकपटक यसअघि पनि झगडा भएको इन्सपेक्टर चौधरीले बताए । ‘कोही कसैले नदेख्नेगरी अचानक प्रहार गरेको देखिन्छ,’ उनले भने, ‘गोठमा काम गरिरहेको अवस्थामा घटना भएको देखिन्छ ।’
लेनदेनको विषयमा झगडा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न राई मानसिक रूपमा बिरामीसमेत रहेको स्थानीयबासीको भनाइ छ । मृतक पुरीका छोरा मुनाल पुरीले आफूहरूको ईष्र्या गर्ने राईले यसअघि पनि पटकपटक निहु खोज्दै आएको बताए ।
‘गरिखाएको देख्नै नसक्ने किसिमको थियो । आरिस गर्ने किसिमले पटकपटक निहु खोज्दै आएको थियो,’ पीडित मुनालले भने, ‘म घरबाहिर थिएँ । घरमा आइपुग्दा आमा गुमाइसकेको रहेछु ।’
राईले मुनालकी श्रीमती सरस्वती गिरीलाई पनि प्रहार गरेका छन् । सरस्वतीको खुकुरी प्रहारबाट हातमा चोट लागेको छ । उनको वीपी प्रतिष्ठानमा उपचारपछि घर ल्याइएको प्रहरीले जनाएको छ ।
एक साताअघि पनि राईले खुकुरी प्रहार गर्ने नियतले घर आएका थिए । पीडित मुनालले भने, ‘एक साताअघि मात्रै पनि ज्यान मार्ने नियतले घर नै आएका थिए ।’
मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Discussion about this post