प्रेमीसँग मिलेर श्रीमानसहित २ को हत्या गर्ने मनितादेबी र धर्मेन्द्र भारत भाग्दै गर्दा पक्राउ

शुक्रबार, १६ माघ २०८२

कलैया : बाराको परवानीपुर गाउँपालिका–१, रहरिया डिहमा बस्ने ३१ वर्षीय ईश्वर मण्डलको हत्या प्रकरणमा संलग्न भएको अभियोगमा प्रहरीले उनकी २३ वर्षीया श्रीमती मनितादेवी मण्डल र उनका प्रेमी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरेको छ।

माघ १४ गते बिहान करिब २ बजे घटना भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा हत्या योजनाबद्ध रूपमा गरिएको खुलेपछि भाग्दै गरेका दुवै जनालाई केही घण्टामै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार आफ्नै श्रीमान् ईश्वर मण्डलको हत्या गर्न मनितादेवीले प्रेमी धर्मेन्द्रलाई प्रयोग गरेको खुलेको छ।

घटनाको क्रममा परवानीपुर–१ मा बस्ने ५० वर्षीय जगरुक मण्डलको घरभित्र अपरिचित व्यक्ति प्रवेश गरी धारिलो हतियार प्रहार गर्दा ईश्वर मण्डल र जगरुक मण्डलकी ४६ वर्षीया श्रीमती सुमित्रा मण्डलको मृत्यु भएको थियो।

घटनामा घाइते भएका ५० वर्षीय जगरुक मण्डल र उनकी २१ वर्षीया छोरी रिनाकुमारी मण्डलको एलएस अस्पतालमा उपचार गरिएको थियो। मृतकहरूको शव एलएस न्युरो अस्पतालमा राखिएको थियो।

पक्राउ परेका बारा जिल्लाको प्रसौनी गाउँपालिका–७ निवासी धर्मेन्द्र महतो धानुक र परवानीपुर–१ की मनितादेवी मण्डललाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत बाराबाट थुनामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अनुसन्धानका क्रममा मृतक ईश्वर मण्डलकी श्रीमती मनितादेवी र धर्मेन्द्र महतो धानुकबीच विवाहबाहिरको सम्बन्ध रहेको पुष्टि भएको छ।

वैदेशिक रोजगारीका लागि युएईमा रहेका धर्मेन्द्र माघ ११ गते नेपाल फर्किएपछि परिवारको सम्पर्कमा नबसी मनितादेवीसँग मिलेर हत्या योजना बनाएको प्रहरीको भनाइ छ।

बाराको विश्रामपुर–४, मुसहर्वाबाट भारततर्फ भाग्ने क्रममा पक्राउ परेका धानुकमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार