काँकडभिट्टा–पानीटंकी नाकाबाट १० किलो चाँदी बरामद, झापाकी महिला पक्राउ

शुक्रबार, १६ माघ २०८२

झापा : नेपाल–भारत सीमा क्षेत्रको काँकडभिट्टा–पानीटंकी नाकास्थित पुरानो मेची पुलबाट करिब १० किलो चाँदीसहित झापाकी एक महिलालाई भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ।

एसएसबीको पानीटंकीस्थित ‘सी’ कम्पनीले सहायक निरीक्षक विक्रमसिंह चौधरीको नेतृत्वमा सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा चाँदी बरामद गरिएको हो।

सुरक्षाकर्मीले शुक्रबार दिउँसो करिब १२ः४५ बजे पुरानो मेची पुल क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेकी महिलालाई रोकी खानतलासी गर्दा उनको झोलाभित्र लुकाइछिपाइ राखिएको दानादार स्वरूपको चाँदी फेला पारेको जनाइएको छ।

पक्राउ पर्नेमा झापा निवासी ४२ वर्षीया देवीकला खड्का रहेको भारतीय सुरक्षास्रोतले जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा उनले भारतको बागडोग्राबाट एक अपरिचित भारतीय नागरिकले नेपालसम्म पु¥याइदिन भन्दै चाँदी दिएको र त्यसबापत चार हजार रुपैयाँ दिने प्रलोभन दिएको बयान दिएकी छन्।

साथै उनले यसअघि पनि यस्तै प्रकृतिको अवैध ओसारपसारमा संलग्न रहेको स्वीकार गरेको भारतीय सुरक्षास्रोतको दाबी छ।

प्रारम्भिक अनुसन्धानबाट बरामद चाँदी भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउन खोजिएको खुलेको छ। पक्राउ परेकी महिला र बरामद चाँदीलाई थप कानुनी कारबाहीका लागि भारतीय राजस्व गुप्तचर निर्देशनालय (डीआरआई), सिलिगुडी–दार्जिलिङमा बुझाइएको जनाइएको छ।

यस घटनाले सीमा क्षेत्रमा सुन, चाँदी तथा अन्य बहुमूल्य वस्तुको अवैध तस्करी अझै सक्रिय रहेको संकेत गरेको छ। सुरक्षाकर्मीले यस्ता गतिविधि नियन्त्रण गर्न सीमा निगरानी थप कडा बनाइएको बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार