सुपरमाई हाइड्रोले ज्यादती गरेको आरोप, प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित

मूल गेटमा तालाबन्दी, कालो झण्डा प्रदर्शन

शुक्रबार, १६ माघ २०८२

इलाम : इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दामाथि ज्यादती गरेको आरोप लगाउँदै प्रभावित क्षेत्रका स्थानीय आन्दोलित भएका छन्। हाइड्रो निर्माणअघि विभिन्न प्रलोभन देखाएर जग्गा खरिद गरिएको र पछि आफूहरूलाई झुक्याइएको दाबी गर्दै स्थानीयले आन्दोलन सुरु गरेका हुन्।

आन्दोलित स्थानीयले हाइड्रो परिसरमा कालो झण्डा राख्नुका साथै मूल गेटमा तालाबन्दी गरेका छन्। उनीहरूको आरोपअनुसार कम्पनीले सुरुमा प्रतिरोपनी ८५ हजारदेखि एक लाख रुपैयाँसम्ममा जग्गा खरिद गरे पनि मालपोत कार्यालयमा भने सात लाखदेखि १० लाख रुपैयाँसम्म मूल्य देखाएर पास गराएको पाइएको छ। त्यस क्रममा स्थानीयलाई झुक्याएर हस्ताक्षर गराइएको आरोपसमेत लगाइएको छ।

स्थानीय टंककुमार आचार्यका अनुसार एक ठाउँको जग्गा देखाएर अर्कै स्थानको जग्गा पास गराइएको छ। “सात वर्षअघि नै हामीलाई झुक्याइएको रहेछ, तर भर्खरै मात्र थाहा पायौं,” उनले भने।

जग्गा अंशबन्डा तथा नामसारीका लागि मालपोत कार्यालय पुग्दा मात्रै आफूहरू ठगिएको थाहा पाएको पीडितहरूको भनाइ छ। स्थानीय पुनम भट्टराईले खोल्सा, भिरालो र पाखो जमिनको मूल्यसमेत प्रतिरोपनी १० लाख रुपैयाँ कायम गराएकाले अहिले अंशबन्डा पास गर्न नै नसक्ने अवस्था आएको बताइन्। “पाखो जमिनकै नामसारी गर्दा प्रतिरोपनी कर ८० हजार रुपैयाँसम्म पुग्छ,” उनले भनिन्।

कर तिर्न नसक्दा उक्त जग्गाको नामसारी गर्न अन्य स्थानको जग्गा पास गर्नुपर्ने बाध्यता सिर्जना भएको पीडितहरूको गुनासो छ।

आक्रोशित स्थानीयले कि कम्पनीले आफूहरूबाट खरिद गरेको सबै जग्गा पुनः खरिद गर्नुपर्ने वा सस्तो मूल्यमा लिएर कानुनी रूपमा अत्यधिक बढाइएको कर खारेज गराउनुपर्ने माग अघि सारेका छन्। दुवै माग पूरा नभए कम्पनीले खरिद गरेको जग्गा फिर्ता दिनुपर्ने उनीहरूको अडान छ।

स्थानीयका अनुसार सुरुमा मौखिक सहमतिमा न्यून मूल्य तय गरिएको थियो, तर पछि कानुनी प्रक्रियामा मूल्य बढाएर जबर्जस्ती सहिछाप गराइएको हो। कानुनी रूपमा बढाइएको जग्गाको मूल्य सच्याइ स्थानीयलाई राहत दिनुपर्ने मागसमेत उनीहरूले गरेका छन्।

पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन सुरु गरिएको जनाउँदै स्थानीयले सात दिनभित्र माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्। हाल हाइड्रोभित्र र बाहिर कालो झण्डा राखिएको छ भने मूल गेटमा तालाबन्दी गरिएको छ। आन्दोलनका क्रममा स्थानीयले सुपरमाई हाइड्रो र केही सञ्चालकविरुद्ध चर्का नारासमेत लगाएका छन्।

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार