बुटवल : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नव निर्वाचित केन्द्रीय समितिलाई इक्यान रुपन्देहीले सम्मान गरेको छ । इक्यान रुपन्देहीले शुक्रबार तिलोत्तमा नगरपालिकाको वनवाटिकामा वनभोज कार्यक्रम सहित नव निर्वाचित केन्द्रीय समितिलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै इक्यानका केन्द्रीय अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक परामर्श दाताहरुलाई थप मर्यादित बनाउनका लागि प्रदेशस्तरमा कानून निर्माणको खाँचो रहेको औल्याए । शैक्षिक परामर्श दाताहरुलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक नभएको समेत अध्यक्ष पौडेलले गुनासो गरे ।
अध्यक्ष पौडेलले आवश्यक नीति निर्माण गर्नुपर्नेमा जोड दिदै इक्यान र यसका सदस्यहरुलाई मर्यादित तथा व्यवसायिक सुरक्षाका लागि ५१ लाख रुपैयाँ बराबरको अक्षकोष स्थापना गर्ने घोषणा पनि गरे । अक्षयकोषका लागि आफ्नो तरफबाट ११ लाख रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा इक्यानका निवर्तमान केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, इक्यान रुपन्देहीका संस्थापक अध्यक्ष देवबहादुर कुंवर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
इक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले केन्द्रको नयाँ नेतृत्वलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।
प्रतिक्रिया