'सेक्युरिटी थ्रेट' बढेको भन्दै सुधन गुरुङले मागे पीएसओ

विहीबार, १५ माघ २०८२

गोरखा : प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुधन गुरुङको सुरक्षामा खतरा बढेको भन्दै पार्टीले व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सहितको सुरक्षा व्यवस्था माग गरेको छ।

हाल गुरुङ धार्चे र चुमनुब्री क्षेत्रका विभिन्न वडामा घरदैलो कार्यक्रममार्फत चुनावी प्रचारमा सक्रिय छन्। यसैक्रममा प्राप्त विभिन्न गोप्य सूचनाका आधारमा हातहतियार बोकेका केही व्यक्तिहरूबाट उम्मेदवार गुरुङमाथि सुरक्षा थ्रेट बढेको रास्वपा गोरखाले जनाएको छ।

रास्वपा गोरखाका सचिव मिलन रानाका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मी उपलब्ध गराउन प्रशासनसँग माग गरिएको हो। “सुरक्षा थ्रेट भएको बुझिएपछि पीएसओसहितको सुरक्षा व्यवस्था माग गरेका हौँ। यसबारे प्रशासनलाई पनि औपचारिक जानकारी गराएका छौँ,” उनले बताए।

उक्त विषयमा जानकारी आएपछि सुरक्षा मूल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत विकले जानकारी दिए। “अहिलेसम्म त्यस्तो गम्भीर अवस्था देखिएको छैन, तर सम्भावित गतिविधिबारे निगरानी बढाइएको छ,” उनले भने।

यसैबीच, घरदैलो अभियानकै क्रममा गुरुङको व्यक्तिगत, सामाजिक तथा राजनीतिक चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलाइएको भन्दै रास्वपा गोरखाले आपत्ति जनाएको छ।

पार्टीले ती गतिविधिबारे आवश्यक अनुसन्धान, छानबिन गरी दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन प्रशासनसँग माग गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार