विराटनगर : मोरङ क्षेत्र नं. ६ को प्रतिनिधिसभा निर्वाचन यसपटक साधारण चुनाव होइन, दुई पुस्ताबीचको सोच, ऊर्जा र दृष्टिकोणको भिडन्त बनेको छ।
एकातिर ७५ वर्षका अनुभवी नेता शेखर कोइराला, अर्कोतिर २५ वर्षका युवा उम्मेदवार वसन्त बुढाथोकी-जसलाई धेरै मतदाताले आफ्नै घरको नाती, नयाँ युगको प्रतिनिधिका रूपमा हेर्न थालेका छन्।
उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा उत्रिएका वसन्त बुढाथोकीको चुनाव चिह्न ‘चिम’ (बलिरहेको बिजुलीको बत्ती) अहिले मोरङ–६ का युवामाझ आशा र परिवर्तनको प्रतीक बन्दै गएको देखिन्छ।
वसन्त बुढाथोकी परम्परागत नेताजस्तो मञ्चमा सीमित छैनन्। उनी गाउँ–टोल, चोक–चौतारी, युवाको भिड, आमाहरूको भेलामै पुगेर प्रत्यक्ष संवाद गरिरहेका छन्।
“म राजनीति गर्न होइन, तपाईंहरूको समस्या बोक्न आएको हुँ,” भन्ने उनको सन्देशले मोरङ–६ मा नयाँ आशा जगाएको छ।
बेरोजगारी, वैदेशिक पलायन, गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचारको पहुँच र स्थानीय रोजगारीका मुद्दालाई वसन्तले चुनावी नारामा मात्र होइन, कार्यान्वयनयोग्य एजेन्डाका रूपमा अघि सारेका छन्। यही कारणले युवामात्र होइन, अभिभावक पुस्ताको विश्वाससमेत क्रमशः उनीतर्फ बढ्दै गएको देखिन्छ।
उता लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय शेखर कोइरालाले आफ्नो अनुभव र पुरानो राजनीतिक पहिचानलाई आधार बनाएर चुनावी मैदानमा छन्। तर स्थानीय तहमा देखिएको माहोलले मोरङ–६ मा परम्परागत अनुहारभन्दा नयाँ सोचप्रति आकर्षण बढ्दै गएको संकेत गर्छ।
विशेषगरी सामाजिक सञ्जालमा वसन्त बुढाथोकीको सक्रियता, सरल भाषा र जवाफदेही शैलीले उनलाई Gen-Z मात्र होइन, सबै पुस्ताको साझा आवाजका रूपमा उभ्याएको छ।
प्रतिक्रिया