हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर

बुधबार, १४ माघ २०८२

मनाङ : हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र माघ । पहाडी र तराई क्षेत्रमा वर्षा हुँदा हिमाली क्षेत्रमा हिमपात हुन्छ । 

हिमपात भएपछि यहाँका डाँडाकाँडा, खोला, नदी, ताल पूर्णरूपमा जमेका छन् भने हिमपातले सेताम्मे देखिएको छ । यसअघि गत कात्तिक १० र ११ गते हिमपात भएको थियो । मङ्सिर र पुस महिनामा हिउँ परेन । 

माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ अहिले हिउँले ढाकिएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका घ्याम्चो गुरुङले बताए । उनले भने,“मनाङका गाउँतिर करिब एक फिटभन्दा बढी हिउँ परेको छ । यसले किसान भएका छन् । हिउँ परेपछि यहाँको उत्पादन बढ्ने हो । हिउँ पर्दा जनजीवन केही दिन भने कष्टकर हुन्छ ।” 

हिमपातका कारण स्थानीय र पर्यटक प्रभावित भएका छन् । नियमित कामका लागि स्थानीय घरबाहिर निस्कन मुस्किल भएको छ । पर्यटक पनि रोकिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले पनि हिमपात भइरहेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा रहेका पर्यटक गन्तव्यतर्फ जानबाट रोकिएको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले माथिल्लो मनाङ(मनाङ ङिस्याङ) गाउँपालिकामा गए रातिदेखि हिमपात भइरहेको जानकारी दिए । सदरमुकाम चामेमा हिउँ पर्न रोकिएर पानी परिरहेको छ । 

माथिल्लो मनाङमा दुई फिटसम्म हिउँ परेको जानकारी प्राप्त भएको उनको भनाइ छ । यतिबेला परेको हिउँ पछिसम्म रहने र सिँचाइको काम गर्ने भएकाले किसान भने खुसी देखिएका हुन् ।
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार