काठडमौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ’लो भिजिबिलिटी’ का कारण आज बिहानैदेखि उडान तथा अवतरण प्रभावित भएको छ ।
मौसम प्रतिकूलताका कारण दिल्लीबाट काठमाडौँका लागि उडेको एयर इन्डियाको विमान अवतरण गर्न नसकी भारतको वाराणसी डाइभर्ट गरिएको छ ।
विमानस्थल कार्यालयका अनुसार काठमाडौँको आकाशमा लामो समय ’होल्ड’ भएपछि इन्धन र सुरक्षाका कारण जहाजलाई भारततर्फै फर्काइएको हो ।
हिउँदको समयमा हुने बाक्लो कुहिरो र ’विन्टर फग’ का कारण भिजिबिलिटी १ हजार मिटरभन्दा तल झरेपछि उडानमा समस्या देखिएको हो । सामान्यतया ’इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ प्रयोग नगरी सुरक्षित अवतरणका लागि विमानस्थलमा २८ सय देखि ३ हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ ।
एयर इन्डियासँगै अन्य केही अन्तर्राष्ट्रिय उडानहरू पनि ढिलाइ (डिले) भएका छन् भने आन्तरिकतर्फ पोखरा, भैरहवा र विराटनगरका कतिपय उडान रद्द वा डाइभर्ट गरिएका छन् । जाडोयाममा काठमाडौँको कचौरा आकारको भूगोलमा धुवाँ र कुहिरो थुप्रिँदा भिजिबिलिटी कम भई हरेक वर्ष यस्ता समस्या दोहोरिने गरेका छन् ।
प्रतिक्रिया