इलाम: वैदिक सनातन धर्मको संरक्षण, संवर्द्धन तथा निरन्तरतामा समर्पित संस्था श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपालले इलाम नगरपालिका–५ मा अवस्थित सप्तमाई गुरुकुल मा अध्ययनरत बटुकहरूका लागि करिब दुई लाख बराबरको खाद्यान्न सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको छ।
गुरुकुलमा आवासीय रूपमा अध्ययनरत करिब ७० जना बटुकहरूको दैनिक भोजन व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले उक्त खाद्यान्न सहयोग गरिएको संस्थाका केन्द्रीय अध्यक्ष रामप्रसाद ओझा ले जानकारी दिए । उनका अनुसार वैदिक सनातन परम्पराको संरक्षण र निरन्तरतामा गुरुकुलहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोले बटुकहरूको पालन–पोषण तथा भोजन व्यवस्थापन संस्थाको प्राथमिक चासोको विषय बनेको छ।
वैदिक सनातन धर्म संरक्षण समिति इलाम जिल्ला समितिको विशेष अनुरोधमा केन्द्रीय समितिले झापा र मोरङ जिल्लाका गुरु तथा धर्म प्रेमीहरूसँग समन्वय गर्दै खाद्यान्न सङ्कलन प्रक्रिया अघि बढाएको इलाम जिल्ला अध्यक्ष कृष्ण घिमिरेले बताए ।
संस्थाका केन्द्रीय महासचिव खगेन्द्र निरौलाका अनुसार उक्त खाद्यान्न सामग्री मोरङ र झापा जिल्लाका पथरी नगरपालिका, उर्लाबारी नगरपालिका, दमक, अर्जुनधारा, गौरादह, कमल गाउँपालिका, बाह्रदशी, कचनकवल, बुद्ध शान्ति लगायतका विभिन्न स्थानबाट सङ्कलन गरिएको हो।
गत दुई वर्षदेखि सक्रिय रहँदै आएको श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल गुरु, पण्डित तथा पुरोहितहरूको साझा संस्था हो। संस्थाले वेद, गौ र गुरुहरूको हक–हित तथा संरक्षण का लागि विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ। हाल समितिको कोशी प्रदेशका सबै ९ वटै जिल्लामा सङ्गठन विस्तार भइसकेको छ, जसले वैदिक सनातन धर्मको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
जिल्ला उपाध्यक्ष विष्णु भट्टराईका अनुसार आयोजित एक विशेष कार्यक्रममा केन्द्रीय अध्यक्ष रामप्रसाद ओझा लगायत जिल्ला समितिका पदाधिकारीहरूले सप्तमाई गुरुकुललाई औपचारिक रूपमा खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया