काठमाडौं : नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारका लागि मध्यपूर्व र मलेसियातर्फ जाने नेपाली श्रमिक यात्रुहरूलाई लक्षित विशेष भाडादर योजना कार्यान्वयन गरेको छ।
निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई र क्वालालाम्पुर गन्तव्यतर्फका उडानमा श्रमिकका लागि प्रत्येक उडानमा १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको हो।
निगमका अनुसार श्रमिक यात्रुको पहुँच सहज बनाउन हरेक उडानका १० सिटमा विशेष सहुलियत प्रदान गरिनेछ। यो सुविधा नेपालस्थित निगमका टिकट काउण्टरहरूबाट आवश्यक कागजातसहित सेवा लिने यात्रुहरूले मात्रै पाउनेछन्।
निगमले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको आर्थिक बोझ केही हदसम्म कम होस् भन्ने उद्देश्यले नयाँ भाडादर योजना ल्याइएको जानकारी दिएको छ।
श्रम गन्तव्यतर्फ यात्रा गर्ने यात्रुले यसबाट प्रत्यक्ष लाभ प्राप्त गर्ने विश्वास निगमले व्यक्त गरेको छ।
प्रतिक्रिया