सङ्कट समाधानका लागि एउटै मोर्चा आवश्यक छः संयोजक दाहाल

शुक्रबार, १२ मंसिर २०८२

सुदूरपश्चिम : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रमा उत्पन्न सङ्कट समाधानका लागि वामपन्थी र गैरवामपन्थी शक्तिलाई एउटै मोर्चामा ल्याउन जरुरी रहेको बताएका छन् । 

विभिन्न कम्युनिष्ट घटकहरु मिलेर गठन गरिएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को आज धनगढीबाट सुरु गरिएको पार्टी एकता सन्देश सभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले नेकपा पार्टीमा अन्य वामपन्थी र देशभक्तहरु केन्द्रित भएर अटाउन सक्ने बताए । 

भदौ २३ र २४ गतेको घटनापछिको परिस्थिति समाधानका लागि वामपन्थी प्रगतिशील, लोकतान्त्रिक शक्तिलाई नेपाली कम्युनिष्ट पार्टीको मोर्चामा ल्याउन पहल भइरहेको जानकारी दिए । हिजो भए गरेका कमीकमजोरीको समीक्षा गरी महान उद्देश्य बोकेर नेकपाको निर्माण सुरु गरिएको स्पष्ट पारे ।

देशभरका क्रान्तिकारीले नेकपालाई नयाँ आशा र भरोसाका साथ हेरिरहेको उल्लेख गरे । हाल उत्पन्न सङ्कटको निकासका लागि निर्वाचनको विकल्प नदेखिएकाले निर्वाचनको वातावरण बनाउने काममा लाग्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए । 

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी पार्टीहरुमा विगतमा भएका टुटफुटबाट शिक्षा लिएर नेपाली राजनीतिलाई स्वच्छ बनाउँदै नेकपा अघि बढ्न लागेको बताए । 

नेता भीमबहादुर रावलले देशको मुहार फेर्न गठन भएको नेकपाले देशलाई रुपान्तरण र परिवर्तन गर्न चाहेको बताए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार