सुनसरी : जेननजी प्रदर्शनका क्रममा इटहरीस्थित इलाका प्रहरी कार्यालयमा तोडफोड, आगजनी, लुटपाट तथा प्रहरीप्रति दुर्व्यवहार गरिएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको विशेष टोलीले आन्दोलनको भिडियो, फोटोसहितका डिजिटल प्रमाणका आधारमा उनीहरूको पहिचान गरी आज पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले भीडमै प्रहरी कार्यालयका संरचना तथा सवारीसाधनमा क्षति पुर्याएको, कार्यालय परिसरमा आगजनी गरेको र सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेको पुष्टि हुने प्रमाणहरू फेला परेका छन्।
पक्राउ परेकामाथि आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। प्रहरीले सुनसरी जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति ल्याएर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा
विजय लिम्बू (२९), ईटहरी उप-महानगरपालिका–३
मदन खत्री (४७), स्थायी ठेगाना भोजपुर याङपाङ–७, हाल ईटहरी–४
दिपेन्द्र कुमार कार्की (४४), ईटहरी–५
आभाष कार्की (२४), ईटहरी–८
सोनम कार्की (२४), ईटहरी–४
रहेका छन्।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पनि पहिचान प्रक्रिया जारी रहेको जनाएको छ।
प्रतिक्रिया