एसपी खड्काको ‘एक्सन मोड’ : झापा–५ मा उच्च-प्रोफाइल प्रतिस्पर्धा, सुरक्षा चुनौती बढ्दै

शनिबार, १० माघ २०८२

झापा : प्रतिनिधिसभा निर्वाचनलाई विशेष प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय झापाको कमान्ड सम्हालेकी नयाँ प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काले मातहतका प्रहरीलाई कडा र स्पष्ट निर्देशन दिएकी छन् ।

शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउनु आफ्नो पहिलो दायित्व भएको उल्लेख गर्दै उनले सुरक्षामा कुनै पनि किसिमको लापरबाही सहन नहुने चेतावनी दिएकी छन् ।

सरुवा भएर गएका एसपी राजन लिम्बूको बिदाइ तथा नयाँ एसपी खड्काको स्वागत कार्यक्रममा बोल्दै उनले निर्वाचन लक्षित सुरक्षा योजना तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएकी हुन् ।

WhatsApp Image 2026-01-23 at 22.37.39

एक प्रहरी अधिकारीका अनुसार एसपी खड्काले जिल्लाभरका प्रहरी युनिटको नियमित अनुगमन गर्ने, फाँटगत गतिविधि प्रत्यक्ष बुझ्ने र आवश्यक परे कठोर निर्णय लिन पनि पछि नपर्ने स्पष्ट सन्देश दिएकी छन् ।

गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई केन्द्रमा राख्दै खड्कालाई झापामा पठाएको हो । उनी बाग्मती प्रदेश प्रहरी कार्यालय, मानव स्रोत व्यवस्थापन महाशाखा, हेटौँडाबाट सरुवा भई झापा आएकी हुन् ।

आइतबार गृह मन्त्रालयले एकैपटक ४८ जना एसपीको सरुवा गरेको थियो । यसै क्रममा झापाका तत्कालीन एसपी राजन लिम्बू मानव बेचबिखन अनुसन्धान ब्युरो, अनुसन्धान व्यवस्थापन शाखा, काठमाडौँ सरुवा भएका छन् ।

झापा आइपुगे लगत्तै दमकको सुरक्षा अवस्थाबारे जानकारी

झापा आइपुगे लगत्तै एसपी खड्काले दमक क्षेत्रको सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिएकी छन् ।

उच्च जनघनत्व र राजनीतिक गतिविधि बाक्लो रहने दमकलाई निर्वाचन सुरक्षाको दृष्टिले संवेदनशील क्षेत्रका रूपमा लिँदै उनले स्थानीय प्रहरी नेतृत्वसँग समन्वय बैठक गर्दै सम्भावित चुनौती र आवश्यक तयारीबारे निर्देशन दिएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार दमक, बिर्तामोड र मेचीनगर क्षेत्रलाई ‘विशेष निगरानी क्षेत्र’ का रूपमा राखी सुरक्षा रणनीति तयार पारिँदैछ । निर्वाचन अवधिमा गस्ती, चेकजाँच तथा सूचनात्मक संयन्त्रलाई थप सक्रिय बनाइने छ ।

झापा–५ मा उच्च प्रोफाइल प्रतिस्पर्धा, सुरक्षा चुनौती बढ्दो

यसपटक झापा–५ निर्वाचन क्षेत्र विशेष चर्चामा छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसहितका उच्च प्रोफाइल उम्मेदवारबीचको प्रतिस्पर्धाले यहाँको चुनावी माहौल निकै तातिएको छ ।

ठुला दल, स्वतन्त्र र नयाँ शक्तिको भिडन्तले चुनावलाई राजनीतिक मात्र नभई सुरक्षाका दृष्टिले पनि संवेदनशील बनाएको छ ।

यही पृष्ठभूमिमा एसपी परिवर्तनलाई गृह मन्त्रालयले रणनीतिक कदमका रूपमा हेरेको छ । नयाँ नेतृत्वसहित जिल्लाको सुरक्षा संयन्त्रलाई चुस्त बनाउँदै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिने लक्ष्य लिइएको छ ।

‘निर्वाचन नै पहिलो प्राथमिकता’

एसपी खड्काले आफू नयाँ भएकाले मातहतका प्रहरीसँग दैनिक संवाद गर्दै जिल्लाको वस्तुस्थिति बुझिरहेको बताएकी छन् ।

“निर्वाचन सफल नभएसम्म शान्ति सुरक्षा नै पहिलो प्राथमिकता हो,” भन्दै उनले कडा निर्देशन दिएकी छन् ।

झापा–५ को प्रतिस्पर्धात्मक चुनाव, बढ्दो राजनीतिक चहलपहल र संवेदनशील क्षेत्रको अवस्थालाई मध्यनजर गर्दै नयाँ एसपीको आगमनसँगै जिल्लाको सुरक्षा संयन्त्र थप सक्रिय र कडा बन्ने सङ्केत देखिएको छ ।

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार