काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नम्बर १ मा विगत चार निर्वाचनदेखि निरन्तर विजयी हुँदै आएको छ । गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले २०६४ सालको संविधानसभा निर्वाचनमा भारी मतान्तरले जित निकालेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सिंहले १० हजार ९३६ मत प्राप्त गर्दै विजयी हुँदा रवीन्द्र मिश्रले १० हजार ११८ मत ल्याएका थिए । त्यसैगरी २०७९ सालको निर्वाचनमा सिंह १२५ मतको झिनो अन्तरले विजयी भएका थिए । सो निर्वाचनमा सिंहले ७ हजार १४३ मत प्राप्त गर्दा मिश्रले ७ हजार १८ मत पाएका थिए ।
यसपटक भने प्रकाशमान सिंह उम्मेदवार नभएपछि काठमाडौँ–१ को राजनीतिक समीकरण फेरिएको छ । नेपाली काँग्रेसले यस क्षेत्रमा प्रबल थापालाई उम्मेदवार बनाएको छ । प्रबल थापासँग राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पुनः रवीन्द्र मिश्र चुनावी मैदानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट रन्जु दर्शना न्यौपाने उम्मेदवार बनेकी छन् । नेपाल कम्युनिष्ट पार्टीले कृतु भण्डारीलाई टिकट दिएको छ ।
काँग्रेसले प्रबल थापालाई टिकट दिएसँगै काठमाडौँ–१ मा आन्तरिक विवाद चुलिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीका ज्वाइँ पर्ने प्रबल थापालाई पार्टी सभापति गगन थापाको पहलमा टिकट दिइएको भन्दै असन्तुष्टि देखिएको छ । यही असन्तुष्टिका बीच काँग्रेस क्षेत्र नम्बर १ ले टिकटमा सिफारिस गरेका नेता बाबुराम आचार्यले काँग्रेसबाट बागी उम्मेदवारी दिएका छन् ।
काँग्रेसमा अढाई दशकदेखि सक्रिय रहेका आचार्य कोसी–काठमाडौँ सम्पर्क समितिका उपसभापति तथा प्रवक्ता, सुनसरी–काठमाडौँ सम्पर्क समितिका सभापति, आचार्य समाजका अध्यक्ष, कौडिन्य गोत्रीय महासङ्घका अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा संलग्न रहँदै आएका व्यक्ति हुन् । उनी राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन गरेका नेता पनि हुन् । आचार्यले प्रकाशमान सिंह निर्वाचनमा नउत्रिएको अवस्थामा आफूले टिकट पाउनुपर्ने दाबी गर्दै आएका थिए ।
अर्कोतर्फ, बानेश्वर थापा गाउँ पुर्ख्यौली थलो भएका प्रबल थापा स्थानीय स्तरमा परिचित अनुहार मानिन्छन् । यसअघिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पुकार बमले करिब ४ हजार १०० मत ल्याएका थिए भने पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेलले ३ हजार १०० मत प्राप्त गरेका थिए । अन्य उम्मेदवारहरूले करिब ७ हजार २०० मत पाएका थिए । अघिल्लो निर्वाचनमा काँग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको भए पनि यसपटक गठबन्धन नगरेको अवस्थामा काँग्रेसलाई जित निकाल्न कठिन हुने स्थानीय काँग्रेस कार्यकर्ताको भनाइ छ । त्यसमाथि बागी उम्मेदवार आचार्यले काँग्रेसकै आधिकारिक उम्मेदवार प्रबल थापालाई थप चुनौती दिएको देखिन्छ ।
पार्टीले पटक–पटक उम्मेदवारी फिर्ता गराउन प्रयास गरे पनि आचार्यले आफूले पाउनुपर्ने टिकट अरूलाई दिइएको भन्दै फिर्ता नलिने अडान लिएका छन् । केन्द्र र क्षेत्र दुवै तहबाट दबाब आए पनि उनले बागीबाटै चुनाव जित्ने दाबी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिसकेका छन् । काँग्रेसभित्रको आन्तरिक विवादका कारण रवीन्द्र मिश्रले जित निकाल्न सक्ने स्थानीयको अनुमान छ । स्थानीय काँग्रेस कार्यकर्ताले दुई उम्मेदवारमध्ये एक जनाले उम्मेदवारी फिर्ता लिनुपर्ने सुझाव दिएका छन् । यदि क्षेत्रले समाधान गर्न नसके केन्द्रले नै हस्तक्षेप गरी सहमति गराउनुपर्ने मागसमेत उठेको छ ।
काँग्रेस नेता आचार्यले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने माग गर्दै आएका छन् भने प्रबल थापा पछिल्लो समय गगन थापाको समूहमा सक्रिय नेता मानिन्छन् । यस्तो अवस्थामा काठमाडौँ–१ मा काँग्रेसको दीर्घकालीन विरासत जोगिन्छ वा बागी उम्मेदवारीले समीकरण उल्ट्याउँछ भन्ने चासो तीव्र बनेको छ ।
प्रतिक्रिया