काठमाडौं : पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिक पुनः संरचनाको खोजीका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको टिप्पणी गरेका छन् ।
आइतबार राष्ट्रियसभा गृहमा प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि आफू खुसी रहेको भन्दै जेनजी आन्दोलनकै उपज प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको बताए ।
उनले यो आन्दोलनले पुरानो ढङ्गले चल्दैन भन्ने कुरा नेपालमा स्थापित गराएको समेत बताए ।
उनले भने, ‘विश्वको औसतभन्दा १० गुणा तल रहेको समाजले अहिलेको जेनजी पुस्ताले सोचेको विचार पुराना दल र नेताबाट हुन सक्दैन थियो । त्यसैले त्यो गुम्सिएर बसेको अन्तर्विरोध नै भदौ २३ र २४ गते विस्फोट हो । त्यो विस्फोटपछि म खुसी छु । अब दुनियाँले बुझ्ने गरी पुरानो ढङ्गले चल्दैन भन्ने कुरा नेपालमा स्थापित भयो ।’
उनले राजनीतिक पुनः संरचनाको खोजी नभए विश्वसँग जोडिएर जान नसक्ने बताउँदै नेपाल र जेनजी पुस्ताले अपेक्षा अनुसार काम गर्न प्रगतिशील लोकतान्त्रिक पार्टी रहेको बताए ।
‘अब पार्टी र दल मात्र म भन्दिन राजनीतिक पुनः संरचना गर्न खोजिएको हो । त्यसो नगरे विश्वसँग हामी जोडिएर जान सक्दैनौ । अहिलेको नेपाल र जेनजी पुस्ताले जे अपेक्षा गरेका हुन् त्यो पुरा गर्न सकिँदैन । त्यसैले प्रगतिशील लोकतान्त्रिक पार्टी बनेको छ । यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो र जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ,’ उनले भने ।
पूर्व प्रधानमन्त्री भट्टराईले पार्टीको एजेन्डा भनेकै जेनजी पुस्ताको चेतना र आवश्यकतासँग जोडिएका कुराको मागहरू पूर्ति गर्ने बताए ।
डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबिचको एकताबाट ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ निर्माण गरिएको हो ।
प्रतिक्रिया