काठमाडौँ : नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा समूहले भावी प्रधानमन्त्री तोकेर अघि बढ्न सहमति जनाएका भए कांग्रेसको राजनीति सम्भवतः आजको मोडसम्म आइपुग्दैनथ्यो।
विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा देउवालाई भावी प्रधानमन्त्री घोषणा गर्न र उनी स्वयं चुनावमा नउठ्न दबाब दिएका थिए। तर अन्तिम चरणमा उक्त प्रस्ताव अस्वीकार भएपछि देउवा न सभापति नै रहे, न त चुनावमै गए। बरु यही घटनाक्रमले गगन थापाका लागि भावी प्रधानमन्त्री बन्ने बाटो खोलिदियो।
विशेष महाधिवेशनबाट निर्वाचित भई शुक्रवार पदबहालीका लागि पार्टी मुख्यालय सानेपा पुगेका सभापति थापालाई कार्यकर्ताले ‘अबकी बार गगन सरकार’ भन्ने नारासहित स्वागत गरेका थिए। पदबहालीसँगै कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै २१ फागुनको निर्वाचनमा जाने निर्णय गरेको छ।
संसदीय राजनीतिमा निर्वाचनअघि नै भावी प्रधानमन्त्री घोषणा गरेर मैदानमा उत्रिने अभ्यास नेपालमा कमै देखिन्छ। यद्यपि २०६० को दशकमा सुरु भएको यो अभ्यास २०७० को दशकमा खासै चर्चामा आएन।
२०७४ को आम निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनाव लडेको थियो। यसपटक भने मुख्य प्रतिस्पर्धी दलहरूले आ–आफ्ना शीर्ष नेतालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी मैदानमा उत्रिएका छन्।
कांग्रेसले गगन थापा, एमालेले केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्।
ओली र शाह एउटै निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्दै छन्। त्यसैले यी दुईमध्ये एकको प्रधानमन्त्री बन्ने सपना २१ फागुनमै समाप्त हुने निश्चित छ। औपचारिक घोषणा नभए पनि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भावी प्रधानमन्त्रीको दौडमा देखिन्छन्। एउटै दलको बहुमत नआउने अवस्थामा पुनः प्रधानमन्त्री बन्न सकिने आङ्कलन उनी स्वयंले गरेका छन्।
यसैबीच, भर्खरै दर्ता भएको श्रम संस्कृति पार्टीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भावी प्रधानमन्त्री घोषणा गरेको छ भने उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अबको प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।
नेपाली राजनीतिमा भावी प्रधानमन्त्री घोषणा गरेर चुनाव लड्ने अभ्यास २०५६ को आम निर्वाचनबाट सुरु भएको हो।
२०४८ मा कांग्रेसले बहुमत पाए पनि आन्तरिक कलहका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरी मध्यावधि निर्वाचन गराएका थिए। २०५१ को निर्वाचनपछि एमाले सबैभन्दा ठुलो दल बने पनि बहुमत पुर्याउन सकेन, जसले त्रिशंकु संसद् र राजनीतिक अस्थिरता निम्त्यायो।
कांग्रेसको आन्तरिक विवाद समाधान गर्न कोइरालाले कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने निर्णय गरेका थिए।
एमालेले पनि मनमोहन अधिकारीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो। तर चुनावी प्रचारकै क्रममा अधिकारी बेहोस भएर ढले र २०५६ वैशाख १३ गते उनको निधन भयो। त्यसपछि दुई दशकसम्म यो अभ्यास ओझेलमा पर्यो। २०७४ मा मात्र एमालेले ओलीलाई भावी प्रधानमन्त्री घोषणा गर्दै पुनः यो अभ्यास पुनर्जीवित गरेको हो।
पछिल्लो जेनजी आन्दोलनपछि पुराना राजनीतिक अनुहारप्रति नयाँ पुस्ताको आक्रोश खुलेर देखियो। देउवा स्वयं आक्रोशित समूहबाट कुटपिटमा परे। यही पृष्ठभूमिमा गगन–विश्व समूहले नेतृत्व परिवर्तनको अडान लिएको थियो।
शुक्रवार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार, जेनजी विद्रोहले उठाएका प्रश्नको जवाफ दिने क्षमताका आधारमा कांग्रेसले थापालाई अघि सारेको हो।
भावी प्रधानमन्त्रीका उम्मेदवार थापा सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दै छन्। यसअघि तीन पटक काठमाडौँ–४ बाट निर्वाचित भएका थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गरी तराई झरेका हुन्। सभापति बनेपछि उनले पार्टीको आधिकारिक लेटरप्याडमा पहिलोपटक लेखेका छन्— ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश।’
सबैभन्दा पहिला रास्वपाले भावी प्रधानमन्त्री घोषणा गरेको हो। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रधानमन्त्रीको उम्मेदवार बन्ने सर्तमा पार्टी प्रवेश गरेका हुन्। पार्टी सभापति रवि लामिछाने भए पनि बालेनलाई अघि सारेर मत बढाउने रणनीति बनाइएको देखिन्छ।
ओली र बालेनबीचको प्रतिस्पर्धाले झापा–५ लाई चुनावको केन्द्र बनाएको छ। पुराना नेताप्रतिको वितृष्णा र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणका कारण यो प्रतिस्पर्धा निकै चासोका साथ हेरिएको छ।
आजको मध्यान्न् दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया