इनरुवा : दर्ता नभएका औषधिहरु बिक्री गरेको आरोपमा सुनसरीको इनरुवाका दुई औषधि पसलहरु सिलबन्दी गरिएको छ ।
औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्रीका लागि पसलमा राखेको पाइएको भन्दै चन्द्रिका मेहिकल स्टोर र माइक्रो फार्मेसी सिलबन्दी गरेको हो ।
विभागका सूचना अधिकारी दिपेन्द्र खड्काले इनरुवामा सञ्चालन भई रहेका १७ वटा औषधि पसलमा अनुगमन गर्दा २ वटा पसलमा दर्ता नभएका औषधि भेटिएको जानकारी दिए । विभागले मंगलवार इनरुवामा औषधि पसल अनुगमन गरेको समेत जनाएको छ । सिलबन्दी गरिएका औषधि पसलहरुलाई विभागीय कारवाहीको प्रक्रिया समेत अघि वढाइएको खड्काले जानकारी दिए ।
इनरुवामा रहेका औपधि पसलहरुमा औषधि व्यवस्था विभागले अनुगमन गरी सिलबन्दी गरेको विषयमा औषधि व्यवसायी महासंघ सुनसरीका महासचिव नविन राज गौतमले दुई तीन वटा पसलमा सिलबन्दी गरेको भन्ने जानकारी आएको वताए । महासचिव गौतमले आफुहरु औषधि ऐन संशोधनको विरोधमा आन्दोलित भई रहेको र विभागमा भोली धर्नाका लागि जाने भएकाले सोही समयमा औषधि पसलहरुमा गरिएको सिलबन्दीका विषयमा समेत छलफल गरिने जानकारी गराए ।
स्वास्थ्य मन्त्रालयले औषधि ऐन २०३५लाई संशोधन गर्दा कतिपय दफा र उप दफा व्यवहारिक नभएकाले संशोधन र खारेजीको माग गर्दै औषधि व्यवसायी महासंघ चरणवद्ध आन्दोलनमा रहेको छ । सोही अन्तरगत भोली विहीवार औषधि व्यवस्था विभागमा धर्नाको कार्यक्रम महासंघले राखेको जनाइको छ । संशोधित ऐनमा विभागमा दर्ता भएका औषधि पसलहरुलाई विगतमा नविकरण गर्दा समय सिमा कटेको ३५ दिन सम्म छुट ३५ दिन पछि ९० दिन सम्म नविकरण गर्दा २५ प्रतिशत जरिवाना लाग्ने व्यवस्था रहेकोमा अहिले आएर नविकरणको समय सिमा भन्दा अगाडी नै नविकरण गरि सक्नु पर्ने थप ३० दिन भित्र नविकरण गर्दा सतप्रतिशत जरिवाना लाग्ने र त्यस अवधिमा पनि नविरण नगरे पुनः दर्ता प्रकृयामा जानु पर्ने व्यवस्था गरिएपछि औषधि व्यवसायीहरु आन्दोलित हुनै आएका छन ।
प्रतिक्रिया