इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा शनिबार राति भएको सवारी दुर्घटनामा एक साइकल यात्रीको मृत्यु भएको छ ।
राति करिब ९ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ३१८१ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धनकुटा घर भई हाल इटहरी–४ मा बसोबास गर्दै आएका अन्दाजी ४५ वर्षीय पूर्णप्रसाद राई गम्भीर घाइते भएका थिए ।
घाइते राईलाई तत्काल प्रहरीको गाडीमा राखेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । तर, उपचारका क्रममा चिकित्सकले राति करिब ९ः४५ बजे उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालक बाराको कलैया–१६ निवासी २९ वर्षीय उपेन्द्र यादवलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर फैलिनासाथ घटनास्थलमा स्थानीयको भिड जम्मा भएको थियो । आक्रोशित स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । प्रहरीले सम्झाइबुझाइ गरी अवस्था सामान्य बनाउँदै अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया